नेपाल–खनालको भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी, संसदीय बोर्डमा नेपाल र खनाल पनि

काठमाडौं, चैत ५ : एमाले संसदीय दलको बालुवाटारमा बिहीबार बसेको बैठकले ‘गुट भेला’ मा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ।

बैठकले पार्टीबाहेक अरू कसैको निर्देशन नमान्‍न र पार्टीबाहेकका कुनै पनि भेलामा सहभागी नहुन सांसदहरुलाई निर्देशन दिएको छ।

संसदीय दल बैठकको निर्णय नमाने विधानअनुसार कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको एक सांसदले बताए। 

संसदीय दलको बैठकले नेकपा संसदीय बोर्ड पनि गठन गरेको छ। सो बोर्डमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित २४ जनालाई राखिएको छ। नेपाल-खनाल समूहले भने उक्त बैठक बहिष्कार गरेको थियो।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ। विधान संशोधनका लागि विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको बैठकमा सहभागी एक सांसदले बताए।