कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण

            तानसेन, ६ चैत : कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

            सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न  बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताउनुभयो ।

            कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ ।

            जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिनुभयो । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तरराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो । 

            छ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०÷४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको  छ । आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताउनुभयो । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्रीवितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ । 

पुल निर्माणले गति लिँदै

            पुल निर्माण शुरु भएको १० वर्षसम्म कालीगण्डकी नदीमा रोकिएको पुल निर्माणले पुनः गति लिन थालेको छ । पाल्पाको रामपुर नगरपालिका–८ भुजातघाट तथा स्याङ्जाको चापाकोट नगरपालिका–९ निर्दिमघाट जोड्ने कालीगण्डकी नदीमा बन्ने मोटरेबल पुलको निर्माण कार्य थालिएको हो ।

            प्राविधिक कारण देखाइ ठेकेदारको लापर्वाहीका कारण रोकिएको पुल पुनःनिर्माण कार्य थालिएको पुल निर्माण समितिका उपसंयोजक त्रिलोचन अधिकारीले जानकारी दिनुभयो । कन्काइ नेपाल प्रगति मिलिनियम जेभी कन्ट्रक्सन प्राली काठमाडाँैले ठेक्काको जिम्मेवारी पाएको छ । पुल निर्माणस्थलमा माटो परीक्षण गरी यसअघिको सम्झौतालाई म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

            पहिले जमीनदेखि छ मिटर गहिराइ राखेर पर्खाल लगाउने भने पनि प्राविधिक कारण समस्या आएपछि १४ मिटर तलबाट पर्खाल लगाएर निर्माणको काम थालेको समितिले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले डिजाइन स्वीकृत गरी निर्माण थालिएको र तीव्र गतिमा काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । एक सय ५२ मिटर लामो मोटरेबल पक्की पुल को स्याङ्जा पाल्पातर्फ एक÷एक वटा र बीचमा गरी तीन वटा पर्खाल निर्माण गरिएको छ ।

            यसअघि २०६६÷६७ मा निर्माण शुरु गरिएको पुल निर्माण रोकिएर पुनः थालनीका लागि २०७७ मङ्सिरमा निर्माणको सम्झौता भएको हो । यसअघि रु १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएकामा २० प्रतिशत रकम थपेर निर्माण कार्य शुरु गरिएको समितिले जनाएको छ ।

            समितिका उपसंयोजक अधिकारीका अनुसार अबको २०७८ असारसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुल निर्माणपछि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा उत्पादित विभिन्न कृषिउपजलाई अन्य क्षेत्रसम्म बिक्रीवितरणका निम्ति पु¥याउन सकिने बताउनुभयो । उहाँका अनुसार, कालीगण्डकी करिडोर पनि तीव्र गतिमा निर्माण भइरहेकाले यस क्षेत्रलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने छ । – पवित्रा घिमिरे (रासस)