माओवादी सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने

काठमाडौं, चैत १० : तत्कालीन नेकपाको दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँतिने सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनमा जाने तयारी माओवादी केन्द्रले गरेको छ।

नेकपा फुटको संघारमा रहेका बेला २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको फैसला दिएको थियो। रिट निवेदकले मागदाबी गरेभन्दा बढी आदेश सर्वोच्चबाट आएको बताउँदै एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह र माओवादी केन्द्रले फैसलाप्रति असन्तुष्टी जनाउँदै आएका छन्।

आज बिहान सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले फैसलामाथि पुनरवलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले उक्त निर्णयअघि कानून व्यवसायीसँग पनि परामर्श गरेका थिए। र, कानून व्यवसायीहरूले फैसलामाथि पुनरवलोकनमा जान सकिने सुझाव दिएका थिए।