सरकारले संसद्को अपमान गर्यो : गगन थापा

काठमाडाैं, चैत १० : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले संसद्को अपमान गरेको आरोप लगाएका छन् । मंगलबार संसद् बैठकमा बोल्दै नेता थापाले ओली सरकार रहेसम्म संसद्लाई तिरस्कार गर्ने र अपमान गर्ने क्रम नरोकिने बताए ।
प्रधानमन्त्रीलाई संसद्सँग बदला लिनु पर्ने भएकाले उनले संसद्को अपमान गरेको उनले आरोप लगाए । थापाले प्रधानमन्त्री ओलले संसद्को अपमान गर्र्ने प्रयास गरेपनि संसद्को गरिमा बचाउन आफूहरु लड्ने बताए ।
‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय,’ थापाले भने, ‘यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् ।’
प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ । उनले अहिले विधेयक अधिवेशन चलिरहेकाले संसदलाई विजनेश दिन सरकारलाई आग्रह गरे ।