माओवादीले समर्थन फिर्ता लिएपछि सरकार गठनको खेल सुरु : प्रकाशमान सिंह

विराटनगर, चैत १२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा (माओवादी केन्द्र)ले समर्थन लिएपछि मात्रै सरकार गठनको खेल सुरु हुने बताएका छन्।
बिहीबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै नेता सिंहले माओवादी समर्थन फिर्ता नलिँदासम्म कांग्रेसले केही नगर्ने बताए। माओवादीको समर्थन हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकास सरकार बहुमतमै रहेको उनले उल्लेख गरे।
कांग्रेस किन अविश्वास प्रस्ताव ल्याएको छैन भन्ने प्रश्नमा नेता सिंहले भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने?’
माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै नयाँ सरकार गठनका लागि प्रयास हुने उनले बताए। ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ,’ सिंहले भने।
प्रधानमन्त्री ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार भने नभएको उनको भनाइ थियो। संसद् पुनःस्थापना भएसँगै ओली राजीनामा दिनुपर्ने उनको थियो।
एमाले र माओवादी अलग भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। सरकारमा सहभागी आफ्ना मन्त्रीलाई भने माओवादीले फिर्ता हुन निर्देशन दिएको छ।
