उपत्यकामा आँखा पोल्ने तुवाँलो

काठमाडौं, चैत १३ : वरिपरिका जिल्लाका जंगलमा लागेको डढेलोको धुवाँ भित्रिँदा काठमाडौं उपत्यकामा आँखा पोल्ने तुँवालो फैलिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानांगका अनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोको धुवाँ उपत्यकामा भित्रिएका कारण तुवाँलो फैलिएको हो।

‘तुँवालो त हिजो-अस्ति पनि थियो, आज धुवाँ पनि मिसिएको छ,’ प्रधानांगले भने, ‘मकवानपुर, चितवन र पर्साका जंगलमा डढेलो बढेको जानकारी भरखरै प्राप्त भएको छ।’

उनका अनुसार काठमाडौं वरिपरिका अन्य जिल्लामा लागेको डढेलोको धुवाँ पनि उपत्यकामा भित्रिएको अनुमान छ। ‘हामी प्रि-मनसुनको सुरुआतमा छौँ, यतिबेला स्थानीय वायु कमजोर हुन्छ,’ प्रधानांगले भने, ‘लामो समयदेखि काठमाडौंमा वर्षा भएको छैन। प्रदूषण बढ्नुमा वर्षात् नहुनु पनि मुख्य कारक हो।’

२७ फागुन र १ चैतमा उपत्यकामा फाट्टफुट्ट मात्र वर्षा भएको थियो। मनसुन समाप्त भएयता उपत्यका मात्र होइन, देशभर नै ठूलो वर्षात् भएको छैन। वर्षात् नभएकै कारण देशभर सुक्खा बढेको छ। त्यसबाट डढेलोको जोखिम बढेको छ।

पूर्वसचिव तथा वरिष्ठ मौसमविद ऋषिराम शर्माका अनुसार उपत्यकाको सतहको प्रदूषण माथि उठेर प्राकृतिक ‘फ्लसिङ’ प्रणालीमा नमिसिएका कारण पनि अहिलेको समस्या देखिएको हो। ‘एक किलोमिटरमाथि युनिभर्सल लेयर विकास भएको हुनुपर्छ, सोही कारण सतहको प्रदूषण माथि जान नपाएको हो,’ शर्माले भने, ‘उपत्यकाको स्थानीय वायु बाहिर जान पाएको छैन। अलि अलि हावा लागे पनि त्यो तल्लो सतहमै सीमित छ।’

उपत्यकाभित्र उत्सर्जित सवारी साधनको धुवाँ बाहिर निस्किन नपाएकाले आँखा पोल्ने समस्या देखिएको उनको भनाइ छ। त्यसमा डढेलो धुवाँ पनि मिसिँदा उपत्यकाको प्रदूषण अझ बढेको शर्माले बताए।