विस्का जात्रा यस वर्ष पनि नहुने

काठमाडौं, चैत २३ : यस वर्ष भक्तपुरको विस्का जात्रा नहुने भएको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल लगायतको उपस्थितिमा बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र भक्तपुरको ४५ औं बैठकले सो निर्णय गरेको हो। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने विस्का जात्रा कोरोनाको जोखिमका कारण नमनाइने उक्त बैठकले जनाएको छ ।

स्थानियले भने प्रशासनले मेलालगायत विभिन्न कार्यक्रम गर्न दिने तर परम्परागत जात्रामा अंकुस लगाउन खोज्नु बेठीक भएको भन्दै विरोध गर्दै आएका छन् ।

यस्ता छन् बैठकले गरेका निर्णय :

१. हाल मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको र हाम्रो देशमा पनि जोखिम बढ्ने सम्भावना रहेको छ। भक्तपुर जिल्लामा मनाइने विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौं भक्तजनहरु सहभागी हुने गरेको तथा सो भिडभाडले कोभिड १९ को संक्रमण फैलिन गई भयावह  अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको विस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिङÞगो ठड़याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने।

२. नयाँ वर्ष २०७८ को अवसरमा हुने पुजा, पाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रमले कोभिड१९ को जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता कार्यक्रम गर्दा सिमित संख्यामा कोभिड १९ को मापदण्ड पालना गरेर मात्र गर्ने साथै पुजा, पाठ र जात्रालगायतका कार्यक्रम गर्दा डोली बोक्ने तथा रथ तान्ने जस्ता कार्य नगर्न, नगराउन समेत अनुरोध गर्ने।

३. यस जिल्लामा मनाइने जिब्रो छेड़ने तथा सिन्दुर जात्रामा अत्यधिक भिडभाड भई कोभिड १९ को जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता किसिमका कार्यहरु नगर्न, नगराउन सम्पूर्णमा अनुरोध गर्ने।

४. कोभिड १९ संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड१९ को मापदण्डको पालना तथा भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसारलगायत जनचेतनामुलक कार्यक्रम गर्न सवै नगरपालिकाहरुलाई अनुरोध गर्ने।

५. कोभिड १९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने ।