नेकपा (एमाले)को नेपाल पक्षको समानान्तर कमिटीमा बस्नेलाई कारबाही गरिने

काठमाडौं, चैत २३ : नेकपा (एमाले)को समानान्तर कमिटीमा बस्नेहरुलाई पनि कारबाही गरिने भएको छ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले समानान्तर कमिटी गठन गरिएको छ। नेपाल पक्षले गठन गरेका समानान्तर कमिटीमा बस्नेलाई पनि कारबाही गरिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्ने र त्यसमा बस्नेलाई कारबाही गरिने बताएका हुन्।

‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ,’ प्रमुख सचेतक भट्टराईले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि वरिष्ठ नेता नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेका थिए।

त्यसैलाई इंगित गर्दै प्रमुख सचेकत भट्टराईले अब समानान्तर कमिटीहरुमा बस्नेलाई कारबाही गर्ने बताएका हुन्। समानान्तर कमिटी स्वीकार्य नहुने उनको भनाइ थियो।

नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन गर्ने अभियान थालेको छ। आइतबार मात्रै यसका लागि तीन महिने अभियान घोषणा गरिएको थियो।