नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको एकैपटक सरुवा

काठमाडौं, चैत्र २५ : सरकारले एकैपटक ठुलो सङ्ख्यामा सह सचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । अतिरिक्तै समूहका थान प्रसाद पंज्ञेनी, अच्युत प्रसाद सिवाकोटी, उमाकान्त आचार्य, ईश्वरी प्रसाद अर्याल, बाबुराम सुवेदी, विश्व प्रसाद अर्याल, महेश भट्टराईको अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत र गृहकै रमेश कुमार के.सी.को आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरा सरुवा भएको छ ।

अर्थ मन्त्रालयका झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूर पश्चिम प्रदेश, धनगढी पुर्‍याइएको छ ।