प्रधानमन्त्रीज्यू, यो के तमाशा हो: गगन थापा

काठमाडौं, चैत २६ : कांग्रेस सांसद गगन थापाले खुला बहसका लागि प्रधानमन्त्री केपी ओलीलाई संसदमा निम्तो दिएका छन्। 

‘०६१ सालतिरै सकिनुपर्ने मेलम्ची आयोजना बनाउन ढिलो गर्‍यौँ, यसबाट पाठ सिकेका छौँ, अब यसो गर्दैनौँ भन्नुपर्ने प्रधानमन्त्रीले कहिले धारो खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर तमासा गरिरहनुभएको छ,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भने, ‘यो के तमाशा हो प्रधानमन्त्रीज्यू?’

सांसद थापाको मन्तव्य

प्रधानमन्त्रीज्यू भनिरहनुभएको छ- यति धेरै विकास निर्माणका काम कहिल्यै भएका थिएनन्, यो चमत्कार भएको छ। प्रधानमन्त्रीज्यूलाई यो चमत्कार भएको किन लागिरहेको छ? यसका दुईवटा कारण हुन सक्छन्। एउटा कारण वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्रीज्यूलाई थाहा छैन, चरम अल्पज्ञान छ। दोस्रो कारण उहाँलाई ढाँट्ने बानी लागेको छ। यो दुइटै अवस्था राष्ट्रका लागि खराब र हानिकारक छ।

२०७४ साल फागुन ३ गते उहाँ प्रधानमन्त्री बन्नुभयो, चैत २ गते खानेपानी मन्त्री आउनुभयो। चैत २९ गते मेलम्चीको सुरुङ छिचोलेर सकिएर उपराष्ट्रपतिबाट रिबन काटेर उद्घाटन भयो। र, लड्डु बाँड्नुभयो र प्रधानमन्त्रीले यही रोस्ट्रममा उभिएर भन्नुभयो- ०७५ सालको असोजसम्म मेलम्चीको पानी आउँछ।

साढे दुई वर्ष लाग्यो त्यस पछाडि पनि। किन? प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन। ठेकेदारसँग मोलमोलाइ मिलेन। साढे दुई वर्ष लाग्यो, डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भयो। अहिले यत्रो फुर्ति?

०४४ सालमा मेलम्ची आयोजनाको परिकल्पना गरिएको कुरा छाडिदिऊँ। ०५५ सालमा मेलम्ची विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो। ७-८ वर्ष सकिने आयोजना २३ वर्ष लाग्दा यसबीचमा हामी सबै सरकारमा बस्यौँ। हामी पनि बस्यौँ।

अर्बौँ रुपैयाँ जनतालाई भार पार्दै गर्दा माफी माग्नुपर्ने होइन? ०६१ सालतिरै सकिनुपर्ने आयोजना बनाउन ढिलो गर्‍यौँ, यसबाट पाठ सिकेका छौँ, अब यसो गर्दैनौँ भन्नुपर्ने प्रधानमन्त्रीले कहिले धारो खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर तमासा गरिरहनुभएको छ। चमत्कार भयो भनेको छ।

०६७ सालमा सुरु भएको अपर तामाकोशी ०७३ सालमा सकिनुपर्ने थियो। ०७१ चैतसम्ममा ८० प्रतिशत काम सकिएको थियो। भूकम्पका कारण पछाडि सर्‍यो। नाकाबन्दीले केही प्रभावित गर्‍यो। अब ठ्याक्कै मेलम्चीको जस्तो तमाशा तामाकोशीमा देखाइनेवाला छ।

यहाँ कोही फास्ट ट्र्याकको कुरा गर्दैन, बूढीगण्डकीको कुरा कोही गर्दैन। पश्चिम सेतीको कुरा कोही गर्दैन। कर्णाली र कोशी करिडोरको कुरा कोही गर्दैन। बबई, सिक्टा सिँचाइजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू वर्षौँदेखि थला परेका छन्, कोही भन्दैन- हाम्रा आयोजनाहरू वर्षौँदेखि थला परेका छन् किनकि त्यसमा केही आधारभूत संस्थागत समस्या छ भनेर।

गर्नुपर्ने काम नगर्ने, गफ चुटेको छ। दुई वर्षअघि सम्पन्न भएर सञ्चालनमा आएको पुल उद्घाटन गरेको छ। सुनकोशी-मरिन डाइभर्सनको ठेक्का नै नलागी शिलान्यास गरिएको छ। सब-स्टेसन चार्ज भएको कहिले हो, अस्ति गएर बटन थिचेको छ।

यो के को तमाशा हो? अस्ति भरखर एक सय ६३ वटा बटन ट्याक्क थिचेर सडकको शिलान्यास गरियो। कति सजिलो छ? लाग्छ, ५७ अर्ब। पैसा छैन, डिजाइन छैन। वर्षको जम्मा ८-९ सय किलोमिटर बनाउने सडक विभागले अब २२-२३ सय किलोमिटर सडक थप्नका निम्ति संस्थागत क्षमता कहाँ बढाउने? त्यसको हिसाबकिताब केही पनि गर्नु नपर्ने?

त्यसो भए एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोकिदिऊँ, एकैपटक १६ सय ५० वटा सडक यत्तिका बहादुर प्रधानमन्त्री भएको बेलामा ठोकिदिऊँ। दिनको १० किलोमिटर बाटो पिच भयो भनेको छ। तर, दिनको तीन किलोमिटर पिच भएको छैन। दिनमा १२-१३ वटा पुल बने भनेको छ।

पूर्वाधार निर्माणका समस्या समाधानका लागि यही संसद्ले दर्जनौँ कानून बनाउनुपर्नेछ। दर्जनौँ कानून बदल्नुपर्नेछ। ध्यान दिएर छलफल गर्नुपर्नेछ। खल्तीबाट आयोजना छान्ने कुरालाई बदल्नुपर्नेछ। नेताले आयोजना छान्ने, कर्मचारीले विकास गर्ने अनि निर्माण व्यवसायीले गरिदिन्छ भनेर बस्ने परिपाटीलाई बदल्नुपर्नेछ। त्यसमा काम गरौँ न।

प्रधानमन्त्रीसँग तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु। तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति संसद्मा म तपाईंलाई निम्तो दिन चाहन्छु। चुनौति दिन चाहन्छु।

होइन भने तपाईं बाहिरको सभा, सम्मेलनमा उभिएर चिलिमे, बैठके, चौतारे राखेर तपाईंले माथिबाट खोक्ने, तलकोले ताली बजाउने अनि माननीय सांसदहरूले संसद्मा आएर बाल कविता सुनाएर बस्ने होइन। म, हामी तपाईंसँग बहस गर्न तयार छौँ। तपाईंका एउटा-एउटा मन्त्रालयको बहस गर्न तयार छौँ। सडकको बहस गरौँ, पुलको, राष्ट्रिय गौरवका आयोजनाहरूको बहस गरौँ।

नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाउनुभएको अवस्थामा काम कति भयो र कसरी भयो भन्ने कुरामा बहस गर्न तपाईंलाई यो संसदमा एउटा सांसद निम्तो दिन चाहन्छ। र, चुनौति दिन चाहन्छ। संसदलाई छलेर, भागेर होइन। शिलान्यास भइसकेका पुल निर्माण सकिएपछि बालुवाटार परिसरभित्र थुप्रै जग्गा खाली छ, त्यहीँभित्र प्रत्येक दिन एउटा नयाँ भवनको शिलान्यास गर्नु होला। बनिसकेपछि उद्घाटन गर्नु होला।