बन्द समाधान होइन, सावधानी अपनाएर विद्यालय खुलै राख्नुपर्छ: प्याब्सन

काठमाडौं, चैत २९ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

देशभर कोरोना भाइरसको संक्रमणको दोस्रो लहर बढ्दै गएको भन्दै शनिबार सीसीएमसीले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। 

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार विज्ञप्ति नै जारी गरेर विद्यालय बन्द गर्नुको सट्टा संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिएका हुन्।

गत वर्ष गरिएको लामो बन्दाबन्दीले विश्वका कतिपय मुलुकसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेको उल्लेख गर्दै उनीहरूले बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको बताएका छन्। 

विगतको बन्दाबन्दीपछि विद्यालय सञ्चालन गर्न सरकार, शिक्षा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरेर तयार पारेको कार्यढाँचा अनुसार  शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको विज्ञप्तिमा उल्लेख छ ।

 ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शिक्षालयहरूमा कार्यरत शिक्षक-कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ ।’ 

प्याब्सनले विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नगराउन विशेष भूमिका निर्वाह गर्न पनि सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको  छ। आफ्ना बालबालिकालाई संक्रमणबाट जोगिन मास्क तथा सेनिटाइजर प्रयोग गर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्यवर्धक खानपिन गराउनेजस्ता कार्यमा सहयोग पुर्याईदिन प्याब्सनले आम अभिभावकलाई अनुरोध गरेको छ । 

‘मुलुकभर कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागी मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्था स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा उललेख छ ।

प्याब्सनले विद्यालय बन्द गरार्ई अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सम्भव नरहेको पनि जनाएको छ। ‘नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत क्षेत्र अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।