सरकारलाई दिएकाे समर्थन फिर्ता लैजान प्रधानमन्त्री ओलीले प्रचण्डलाई दिए चुनाैति

काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएकाे समर्थन फिर्ता लैजान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाैति दिएका छन्।

सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘बघिनी तबसम्म चुप हुन्छ, जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बोलिरहनुभएको छ, तर म सीमा हेरिहेको छु। तपाईंहरुलाई मात्रै निष्कासन गर्न होइन, हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।’

प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेको जिकिर गरेका छन्। उनले माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चेतावनी दिएका छन्।  ‘कति रोएको ? राजीनामा देऊ राजीनामा देऊ। हटाउन न। हटाउ। समर्थन किन गरिरहन्छौं? फिर्ता लैजाउ। केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ,’ प्रधानमन्त्री ओलीले भने, ‘मसँग बहुमत छ। बहुमतको सरकार छ। म किन राजीनामा दिन्छु? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ। लैजाउँ। चाहिएको छैन तिम्रो समर्थन। लैजाउ।’

प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधवकुमार नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आह्वान गरे। उनले पार्टीमा रहेर काम गर्न दिइने, तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए।

प्रधानमन्त्री ओलीले भने, ‘म उहाँहरुलाई अहिले पनि भन्न चाहन्छु, पार्टीबाट उहाँहरुले यति उपद्रोव गर्दा पनि निष्कासन गरिएको छैन। आत्माआलोचना गरेर फर्केर आउनुहोस्। आफ्नै पार्टी हो। आउनुहोस् तपाईंहरुलाई आफ्नै पार्टीको रुपमा व्यवहार गरिन्छ।’

उनले गल्ती महसुस गर्नुपर्ने जिकिर गरे। गल्ती महसुस गरेर आउनुहोस्। गल्ती महसुस गरेर आएर काम गर्न बिनाभेदभाव दिइन्छ। तर गुटबन्दी चल्दैन। गुटबन्दी हुँदैन।

उनले नेता नेपालले क्षमा याचना गर्नुपर्ने बताए। ‘समूहगत रुपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्दैन । पार्टी फुटाएर, फुटेको एउटो चोइटोलाई पार्टीको मान्यता कहिलेही पनि दिँदैन पार्टीले । व्यक्तिगत तवरमा माधव नेपालजी आएर पार्टीमा काम गर्छु भन्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गर्नुहोस्,’ ओलीले भने।