गण्डकी प्रदेशमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि एमाले सरकार अल्पमतमा

काठमाडौं, वैशाख १ : एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारविरुद्धको अविस्वास प्रस्तावमा समर्थन गर्ने निर्णय जनमोर्चाले गरेको छ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रतिपक्षले ल्याउने गण्डकी प्रदेश सरकारविरुद्धको अविस्वास प्रस्तावमा पार्टीले समर्थन गर्ने बताएका छन् । प्रदेश सरकारले प्रतिगमनलाई साथ दिएको र प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको बुधबार अध्यक्ष केसीले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

‘माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले एक्लैको सरकार भएकोले आफूहरुले पनि सरकारलाई समर्थन गर्न नसकेको जनमोर्चाले बताएको छ । 

अब बन्ने नयाँ सरकारलाई आफूहरुले समर्थन गर्ने तर सहभागी नहुने निर्णय जनमोर्चाले गरेको छ।

गण्डकी प्रदेशमा एमालेको २८ र जनमोर्चाका ३ सांसद छन् । उसलाई बहुमत पुर्याउन ३ सांसद् आवश्यक पर्छ । माओवादीले समर्थन फिर्ता लिइसकेकाले जनमोर्चाले पनि समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।