लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल,६ वैशाख: लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेश ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ। मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ। यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।