बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं, वैशाख १३ : काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुने भएको छ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो। एक प्रजिअका अनुसार कोरोना प्रसार रोक्न बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने सहमति भएको छ।

निषेधाज्ञाका बेला सार्वजनिक यातायात बन्द रहने छन्। होटेलहरू बन्द रहने छन् तर घर-घरमा खाना डेलिभरी गर्ने ‘टेक अवे’ सेवा सञ्चालनमै रहने छ।

बाटोमा हिँडडुलमाथि प्रतिबन्ध नलगाइने तर समूहमा हिँड्न नदिइने ती प्रजिअले जानकारी दिए।