देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न वरिष्ठ नेता नेपाल बुढानिलकण्ठ पुगेका हुन्। देउवा र नेपालबीच एक घण्टा छलफल भएको छ। 

दुवै जनाबीच समसामयिक राजनीतिक’bout छलफल भएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि त्यस विषयमा पनि छलफल भएको छ। 

यसअघि बुधबार प्रधानमन्त्री ओली पनि देउवालाई भेट्न बुढानिलकण्ट पुगेका थिए। ओलीले आफूलाई विश्वासको मतका लागि सहयोग गर्न आग्रह गरेका थिए। देउवाले विश्वासको मत दिन नसक्ने बताएका थिए। 

बुधबार नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो। 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ। त्यसको पूर्वसन्ध्यामा नेताहरूबीच छलफल तीव्र भएको छ।