प्रधानमन्त्री ओलीले आज संसद बैठकमा विश्वासको मत लिँदै

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ।  प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्नेछन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्। एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। 

जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ। महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ। यही अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ। संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन्।  निलम्बित सांसदले मतदान गर्न पाउने छैनन्।

 नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ। उता, आफ्नै पार्टीभित्र रुष्ट बनेको सत्तारुढ नेकपा (एमाले) माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ। आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए।  

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतापूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ। एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्। यता, नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।