वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक चेतन कार्कीकाे निधन

वरिष्ठ संस्कृतिकर्मी तथा निर्देशक चेतन कार्कीको आइतबार बिहान निधन भएको छ।

कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको बताइएको छ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, आरुखर्कमा जन्मिएका कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो।

उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमिले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा (राष्ट्रिय चलचित्र पुरस्कार पाएको, २०४३ सालमा), छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन्। उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) सहित प्रकाशित छन्।

उनको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन्। उनले विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।