राष्ट्रिय सहमति या आफ्नै नेतृत्वमा सरकार: ठाकुर / यादव

काठमाडौं, जेठ ४ : संघीय संसद्को चौथो ठूलो दल जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
दुवैजनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवं अडकलबाजीहरू भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जसपा सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ । तर, राष्ट्रिय सहमतिको वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’
लामो समयपछि जसपा अध्यक्षद्वयको संयुक्त विज्ञप्ति आएको हो । आठबुँदे विज्ञप्तिमा पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधानअन्तर्गत् रहेर नै समाधान गर्ने, पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरुद्ध अनेकौँ भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध गर्ने उल्लेख छ ।
यस्तै, प्रधानमन्त्री केपी ओलीको विश्वासको मतका सन्दर्भमा पदाधिकारी बैठकद्वारा सहमति गरी आपसी समझदारीकै आधारमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरुद्धमा मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
‘यस अवसरलाई दुरुपयोग गरी पार्टीका केही नेतृत्वहरूबाट नै गुट–उपगुट खडा गर्ने, पार्टीभित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चार माध्यमहरूमा समेत दिइएका गैर–राजनीतिक, गैर–जिम्मेवार अभिव्यक्तिहरू प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचारसंहिता एवं पार्टी कार्यपद्दतिका प्रतिकुल छन् । यस प्रकार कार्य, अभिव्यक्ति एवं गतिविधिलाई तुरुन्त बन्द गर्नुपर्छ ।’


