राष्ट्रपतिले दिएको समय सकिँदा प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको गठनलाई दिएको समय सकिँदा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी प्रश्तुत गरेका छन्।

विपक्षी दलका नेताहरू सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई-यादव पक्षका सांसद र एमालेका खनाल-नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित देउवा शितल निवास पुगेका थिए।

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्। शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन्। ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफूले र जसपाका ३२ सांसदको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।

जसपामा केही दिनअघिमात्रै महन्थ ठाकुर र राजेन्द्र महतो समूहले महतोलाई संसदीय दलको नेता चुनेको थियो।