ओलीविरुद्ध समाजवादी अभियानमा गोलबद्ध बनौँ : माधव नेपाल

काठमाडौं, जेठ ११ : एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सिंगो कम्युनिस्ट आन्दोलनलाई समाजवादी अभियानमा गोलबद्ध गराउने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै नेपालले भनेका छन्, ‘अब सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ। ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछु।’

आजको दिनसम्म आइपुग्दा ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिस्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेकाले जनसाधारणसमेत प्रतिरोधमा उत्रिने अवस्था बनेको उनले उल्लेख गरेका छन्। ‘त्यसैले अब हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ,’ उनले भनेका छन्।

‘जनअपेक्षाविपरीत केपी ओलीले केही समयअघि षडयन्त्रकारीहरूको उक्साहटमा सिंगो नेकपालाई विभाजन गर्ने काम फत्ते गरेको उनले बताएका छन्। र, सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ ०७५ को कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्तापंक्तिको मागविपरीत एकाधिकारवादी शैलीमा पार्टीलाई चलाएको आरोप लगाएका छन्।

‘जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही विन्दुबाट सुरु गरेर कथित कारवाही र निष्कासनमा आएर पूरा भएको छ। नेपालको कम्युनिस्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिंगो कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन्,’ नेपालले भनेका छन्।

प्रधानमन्त्री ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेको आरोप नेपालले लगाएका छन्। ‘कम्युनिस्ट सरकार रहेका बेला विचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुःखद् पक्ष हो,’ नेपालको अपिलमा भनिएको छ, ‘ओली सरकारका हर्कत र विवादित पक्षहरू तपाईं हामीबीच छर्लंग छ। ओलीले आफूलाई विचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बनाए। निष्ठावान, त्यागी र इमानदार कार्यकर्तापंक्तिमाथि दलाल र माफियाहरूले राज गरे।’

त्यसविरुद्ध आवाज उठाउँदा आफूहरूमाथि ओलीबाट प्रहार भएको नेपालको भनाइ छ। ‘अहिले ओली गुटले गरेको कथित कारवाही वा निष्कासन त्यसैको प्रतिरूप हो। उक्त कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु,’ उनले भनेका छन्।

यसबीचमा आफूmले व्यक्तिगत र सामूहिक रूपमा पार्टीलाई दुर्घटनाबाट जोगाउन सक्दो भूमिका निर्वाह गरेको र ओलीले पार्टीलाई गम्भीर मोड र संकटपूर्ण अवस्थामा पुर्‍याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्‍याएको उनले बताएका छन्। ‘पटक-पटकको भेटमा
स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरेँ। तर, सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरू मनन गरेनन्, वास्ता गरेनन्। बरु प्रतिशोध साँध्ने काम मात्र गरे ! त्यही कारण आम जनता, नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो,’ नेपालको अपिलमा भनिएको छ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षाअनुरूप काम नहुँदा निराशा बढेको नेपालले उल्लेख गरेका छन्। ‘जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगत रूपमा ठट्टाको विषय बनाए। ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन। हजारौंको ज्यान जाने अवस्था बन्यो। सिंगो जनताप्रति योभन्दा ठूलो अपराध अरू हुन सक्दैन,’ उनले भनेका छन्।