भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं, जेठ १४ : बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् ।
उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।
बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् ।