एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने

काठमाडौं, जेठ १८ : कोभिड–१९ का स्थगित भएको यस वर्षको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारले निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव लगेको थियो। 

कोरोनाभाइरसको महामारी नघटेकाले एसईई परीक्षा भौतिक रुपमा उपस्थित गराएर लिन सकिने अवस्था नरहेको शिक्षा मन्त्रालयको निष्कर्ष थियो। त्यसैका आधारमा आन्तरिक मूल्यांकनबाटै गर्न मन्त्रालयले प्रस्ताव लगेको थियो। 

यस वर्षको एसईई परीक्षा जेठ १३ गते तोकिएको थियो। तर, कोरोनाका कारण स्थगित गरिएको थियो। 

गत वर्ष पनि कोरोनाका कारण एसईई परीक्षा हुन सकेको थिएन। पछि आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल तयार गरिएको थियो। 

यस वर्ष कक्षा १० का त्रैमासिक परीक्षा भएका छन्। त्रैमासिक परीक्षाको मूल्यांक १० प्रतिशत, अद्र्धवार्षिक परीक्षाको मूल्यांकन ३० प्रतिशत र बाँकी आन्तरिक मूल्यांकनलाई आधार बनाइने भएको छ। यसका लागि विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षकसहितको तीन सदस्यीय मूल्यांकन समिति गठन गरिने भएको छ। त्यहि समितिले मूल्यांकन गरेर नतिजा राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था गरिएको जनाएको छ। 

विद्यालयको समितिले शिक्षा विकास तथा समन्वय एकाईमा नतिजा पठाउनेछ। एकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउने व्यवस्था गरिएको छ। 

कोरोनाका कारण विद्यालय तहका अन्य परीक्षा पनि स्थगित गरिएका छन्। विद्यालय तहका अन्य परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमा सञ्चालन गर्ने स्थानीय तहहरूले निर्णय गरिरहेका छन्।