जसपा नेताको मन्त्री नबन्दै सपथग्रहण नगर्ने चेतावनी

काठमाडौं, जेठ २१ : मन्त्री नियुक्त नहुँदै जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहमा विवाद चुलिएको छ ।

पार्टीको उपेन्द्र यादव समूहबाट महन्थ–राजेन्द्र क्याम्पमा आएका विमल श्रीवास्तव र उमाशंकर अरगरियाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार सरकारमा सहभागी हुन वरिष्ठ नेता महतोलाई उपप्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी छ । शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई सहरी विकास, विमल श्रीवास्तवलाई खानेपानी र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । 

आफूहरूलाई सामान्य मन्त्रालयमा खुम्च्याइएको बताउँदै श्रीवास्तव र अरगरियाले असन्तुष्टि जनाएका हुन् । उनीहरू सपथग्रहणमा सहभागी नहुने चेतावनी दिएका छन् । महन्थ र राजेन्द्रले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन् ।

उनीहरूलाई पनि महत्त्वपूर्ण मन्त्रालय दिलाउन अध्यक्ष ठाकुर प्रधानमन्त्री केपी ओलीसँग भेट्न बालुवाटार पुगेको स्रोतको भनाइ छ ।