प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, जेठ २३ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ। 

यसअघि गठन भएको संवैधानिक इजलासका न्यायाधीशका विषयमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा सुनुवाइ रोकिएको थियो। आजबाट फेरि सुनुवाइ सुरु हुने भएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १४ जेठमा गठन गरेको संवैधानिक इजलासका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विवाद उत्पन्न भएको थियो। रिट निवेकदतर्फका कानून व्यवसायीले उनीहरूलाई इजलासबाट अलग हुन आग्रह गरेका थिए।

तर, उनीहरूले इजलासमै रहने निर्णय गरेका थिए। त्यसपछि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीले इजलासबाट अलग हुने निर्णय गरेका थिए। जसले गर्दा सुनुवाइ रोकिएको थियो। 

आज नयाँ इजलास गठन हुनेछ। नयाँ संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ हुने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। यसका विरुद्ध विपक्षी गठबन्धनका १४६ सांसद सर्वोच्च अदालत पुगेका हुन्।

त्यस्तै, कानून व्यवसायीले पनि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दिएका छन्। सबै गरेर ३० वटा रिट दायर भएका छन्।