नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएका पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएका पुस्तक जफत गर्न पाठ्यक्रम विकास तथा मूल्याङ्कन केन्द्रलाई निर्देशन दिएका छन्।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज (बुधबार) सम्पन्न ८८औँ बैठकमा मन्त्री श्रेष्ठले केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएको भन्दै त्यस्तो निर्देशन दिएका हुन्।

त्यस्तो कार्य गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि उनले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए।

पुरानो नक्सा छापेर पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, बिक्री भइसकेका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनबमोजिक कारबाही गर्ने निर्देशन उनले दिएका थिए।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

सोही मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नया पुस्तक बिक्री गर्नेमाथि कानुनी कारबाही गरिने बताए। नयाँ नक्सा जारी भइसेको अवस्थामा पुस्तकमा पुरानै नक्सा राख्नु गम्भीर त्रुटी भएको उनको भनाइ थियो।