अब हजूरको हैसियत नै के छ र ?

‘यत्राको लाग्दैन । गधा हो ! हामी त १६–१७ सालतिर काम गरेका मान्छे । त्यसबेला पनि हामीले यस्तै गरेका थियौं । हामी कति थियौं र ? मुठ्ठीभर त हो ! तर चोरी, डकैती, हत्या, लूटपाट गरेर, अशान्ति मच्चाएर यिनीहरूको बदनाम गर्‍यौं कि गरेनौं ? त्यति नगरेको भए तीस–तीस वर्षसम्म यसरी मोज गर्न पाइन्थ्यो ? एउटा बदमाशले सय जना सज्जनलाई थर्काउँछ भनेको बिर्स्यौ ?’


(सन्दर्भ : २०४६ चैत २६ गते बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भए लगत्तै यसलाई असफल पार्न मण्डले र तिनका मालिकहरूले मच्चाएको आतंक । थप कुरा आलेखको अन्त्यमा ।)

“राति एघार बजेपछि त्यहाँ मानिसहरू भेला हुन थाले । कोही कारमा, कोही भ्यानमा र कोही मोटरसाइकलमा । ४० जना जति आइसकेपछि, साढे एघार बजेतिर, कम्पाउन्डको गेट र घरको मूल ढोका बन्द गरियो ।

“सबैजना ठूलो बैठक कोठामा बसेका थिए । सबै बडो चिन्तित, हडबडाए जस्ता र कसैलाई भेट्टाए ङ्याकिहाल्लान्, कोपरिहाल्लान् जस्ता देखिन्थे । २५ जना जति २५–३० वर्ष भित्रका, ८–१० जना अलि बढी उमेरका र केही ४५ नाघेका । श्यामे र मैले भएर रक्सी खाने गिलासहरू, पानी, एक डंगुर तारेको मासु र भुटेको नुनिलो काजुका प्लेटहरू भित्र पुर्‍याइदिएपछि उनीहरूले बैठक कोठाको ढोका पनि बन्द गरे ।”

अस्ति शनिवार बिहानको कुरा हो । नरबहादुर मलाई उसले नोकरी गर्ने, राजदरवार अगाडिको ठूलो घरमा अघिल्लो रात भएको घटना सुनाइरहेको थियो । ऊ भन्दैगयो :

श्यामे र मलाई कोठा बाहिरै बस्न अह्राइएको थियो । हामी बस्यौं । एक छिन पछि उनीहरूको बैठक शुरू भयो । छेउछाउका झ्यालबाट भित्रको कुराकानी बाहिर आउन थाल्यो —

‘क्या हो, यसरी पनि हुन्छ ?’ यो स्वर घरमालिकको थियो । उमेर ढल्केका, कपाल फुलेका, अग्ला, एकोहोरो जीउका ती बूढा निक्कै रिसाउँदा मात्र यसरी ङ्वार्र गर्थे ।

‘साथीहरूले ज्यानको बाजी लगाएर काम गरेकै हुन् । तर केही नलाग्ला जस्तो छ !’ दुई हप्ता अघिसम्म मन्त्री रहेका एक जनाको स्वर निक्कै निराश थियो।

‘होइन, त्यसरी हरेस किन खाने ? हामी अझ अगाडि बढ्नुपर्छ र पेलेरै छोड्नुपर्छ,’ यो स्वर चाहिं निक्कै पुड्को, घीनलाग्दो अनुहार र छुस्स दारी–जुँघा भएको अधबैंसेको थियो, जो अघि–पछि पनि रातबिरात घरमालिक बूढालाई भेट्न आइरहन्थ्यो ।

‘छोड यी सब कुरा । सबभन्दा पहिले मलाई यो हप्ताभरिको रिपोर्ट देओ । क–कसले के–के गर्‍यौ ?’ बूढा बोले ।

‘मैले अघिल्लै हप्तादेखि गरेको काम यो हप्ता पनि गरें । बहुदलवादीहरूको जुलूसमा उनीहरूकै झण्डा लिएर पस्ने, उनीहरू भन्दा बढी अबीर घसेर चर्को–चर्को स्वरमा नारा लगाउने र उनीहरूसँग नजिकिने काम गरिरहेको छु । मेरो पूरा टोली नै यसमा व्यस्त छ ।’

‘मैले चाहिं अगाडि चारतारे र पछाडि हँसिया हथौडा भएको एउटा टी–शर्ट नै तयार पारेको छु । त्यो लगाउँछु र जहाँ जहाँ मान्छे भेटिन्छन् त्यहाँ त्यहाँ ठूलठूलो स्वरमा ‘मण्डलेहरूले खत्तम पारे’, ‘मण्डलेले देश बिगारे’, ‘मण्डलेको नाश गर्नुपर्छ’ भनेर उनीहरूलाई भड्काउन खोजिरहेको छु ।’

‘म चाहिं निर्देशन पाए बमोजिम ‘बहुदल जिन्दावाद’, ‘हाम्रो नेता जिन्दावाद’ भन्दै नेताहरूको घर–घर गइरहेको छु र आफ्नो टोलीका सबैलाई यही काममा लगाइरहेको छु । नेताहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा गर्छन् आदि–इत्यादि सब कुराको एउटा फाइल नै तयार पार्दैछु ।’

‘मैले…’

‘ठीक छ, ठीक छ । उनीहरूलाई यसैगरी बदनाम गर्नुपर्छ र सिध्याउनुपर्छ ।’ बूढाले उसको कुरा काटेर भने, ‘अस्ति दुई गते आइतवार एकेडेमी कसको टोली गएको थियो ?’

‘मेरो, हजूर !’

‘किन भागेर आएको त, लाछी ?’

‘कहाँ हजूर, बाहिर उनीहरूलाई उत्तेजित गराउन जति कोशिश गर्दा पनि केही लागेन । यी बहुदलवादी त कति चाम्रा हुँदा रहेछन्… जति उत्तेजित भए पनि नारा र जुलूस बाहेक अरू केही नजान्ने । एउटाले यस्सो ढुंगोसम्म हानेको होइन ! अनि लौ भएन भनेर हामीले मन्त्रीका गाडीहरू के ध्वस्त पारेका थियौं, उनीहरूले मण्डले भनेर हामीमाथि शंका गरिहाले । झन्डै हाम्रो तलाशी पनि लिएका । तलाशी लिंदा भत्ता खाएको कार्ड भेटिएको भए हामी बाँच्थ्यौं त हजूर ? अनि नभागेर के गर्ने ?’

‘कार्ड जुत्ताभित्र हालेर लुकाउनू भनेको होइन, बजिया ?’

‘जुत्ताभित्र हालेर पनि के गर्ने ? पाटनमा जुत्तै समेत फुकालेर, नांगेझार पारेर तलाशी लिएका होइनन् ?’

‘थुक्क हुतीहारा हो, मण्डले भन्ने नचिनिने गरी काम गर्नू, आफ्नो गोप्यता कायम राख्नू भनेको त… !’ बूढाले अर्को प्रश्न गरे, ‘अनि तीन गते विश्वज्योति हल जाने को नि ?’

‘म हजूर !’

‘बरु तेरो टोलीले केही गर्‍यो । तर आगो अलिक पुगेन । अबदेखि जहाँ जाँदा पनि गाडीमा चार जर्किन पेट्रोल लिएर जानू । काम फत्ते गर्न सजिलो हुन्छ, बुझिस् ?’

‘बुझें, हजूर !’

‘चार गते शंखमूल जाने चाहिं तेरो टोली होइन ?’

‘हजूर !’

‘भाते हो, त्यसरी आफू चिनिने गरी काम गर्न हुन्छ ?’

‘हामीले त घरहरूमा आगो लगाइसकेपछि ‘बहुदल जिन्दावाद’ भन्ने नारा लगाएर नै भाग्ने योजना बनाएका थियौं । तर, सुकुम्बासीहरूलाई देखेपछि झ्वाँक चलिहाल्यो । ‘साला, तिमीहरू नै होइन बहुदल माग्दै हिंड्ने ?’ भन्ने मुखबाट निस्किहालेछ । उनीहरूले मण्डले भन्ने चिनिहाले… माफ पाऊँ हजूर !

‘एकपल्टलाई माफ भो । तर आइन्दा यस्तो गल्ती नगर्नू । अनि छ गते मैतीदेवीको चुरा पसल लुट्न जाने चाहिं कता छ नि ?’

‘यहीं छु, हजूर !’ त्यो स्वर निकै निन्याउरो थियो ।

‘भाते ! त्यत्रा तीन–तीनवटा गाडीमा हालेर पठाएको, जाबो एउटा पसल लुट्न नसकेर भागिस् ? साथीहरूलाई पक्राउ पनि पारिस्, होइन ? गधा…।’

‘पहिले नै धम्की दिएर जानु हाम्रो ठूलो भूल भयो हजूर ! वरिपरिका केटाहरू नजीकै लुकेका रहेछन् । हामीले थाहै पाएनौं । गाडीबाट ओर्लेर पसलमा पस्न लाग्दा सबले हामीलाई घेरेर ‘ठोक् मण्डलेलाई’ भनेर भकुर्न थालिहाले । दुई जनालाई त त्यहाँका केटाहरूले राम्ररी चिन्दा पनि रहेछन् । धन्न बाँचियो !’

‘बेकूफ ! जनताको चुटाइ खाएर अस्पताल भर्ना भएका ती तीनजनाले हाम्रो पोल खोलिदिए भने के गति हुन्छ, सोचेको छस् ? त्यसै त मण्डले भनेर चिनेपछि जनताले छोड्दैनन्, त्यसमाथि यो सब व्यवस्था गरेर पठाउने हामीहरूको नाम थाहा पाए भने… ?’

‘अस्ति हजूरले इस्पीच दिंदा मर्जी भएको कुरा उनीहरूले कसरी भुल्लान् र हजूर ?’

‘हो त, हजूरले ‘कसैले हाम्रो पोल खोल्यो भने उसले आफ्नो ज्यान माया मारोस्’ भनिसकेपछि पोल खोल्ने कसको आँट, हजूर ?’

नरबहादुर बताउँदै गयो : यसपछि केही बेर कोठाभित्र कोही बोलेको सुनिएन । रित्ता गिलासमा रक्सी र पानी थपेको आवाज मात्र आइरह्यो । एक छिन पछि घरमालिक बूढाको स्वर सुनियो—

‘अरू क–कसले के–के गर्‍यौ त ?’

‘पाएको निर्देशन अनुसार सब हुँदैछ, हजूर ! मान्छे पिट्ने, चोरी गर्ने, बाटा–घाटामा आइमाईका गहना थुत्ने जस्ता काम फाटफुट गरिरहेकै छौं । निर्देशन पाए यसभन्दा अरू पनि गर्छौं । पहिले पनि गरेकै हो । तर एउटै डर छ… जनताले भेटे र मण्डले भन्ने चिनेर ढुट्याए भने चाहिं फसादै पर्छ । सारै डरलाग्दो अवस्था छ !’

‘भाते हो ! त्यत्रो कराते, कम्फू र ताइकान्डो सिकाएको खोलामा बगाएर आयौ ? तँ त ब्ल्याकबेल्ट नै होस् क्यारे, होइन ?’

‘हुन त हो हजूर, तर जे भए पनि जनता उल्टेपछि कसको के लाग्दोरहेछ र ? झन् अब त टोल–टोलमा नागरिक सुरक्षा समितिहरू पनि गठन हुन थालेका छन्!’

‘यत्राको लाग्दैन । गधा हो ! हामी त १६–१७ सालतिर काम गरेका मान्छे । त्यसबेला पनि हामीले यस्तै गरेका थियौं । हामी कति थियौं र ? मुठ्ठीभर त हो ! तर चोरी, डकैती, हत्या, लूटपाट गरेर, अशान्ति मच्चाएर यिनीहरूको बदनाम गर्‍यौं कि गरेनौं ? त्यति नगरेको भए तीस–तीस वर्षसम्म यसरी मोज गर्न पाइन्थ्यो ? एउटा बदमाशले सय जना सज्जनलाई थर्काउँछ भनेको बिर्स्यौ ?’

‘रिसानी माफ होस् हजूर, तर यो १६–१७ सालको जमाना त होइन नि । त्यसबेलाको जस्तो १०–१५ जना फटाहालाई देख्यो कि डरले भाग्ने जनता अहिले छैनन् । अब त हामीले जतिसुकै धम्की र पोज दिए पनि जीउ छाडेर हामीमाथि नै आइलाग्छन् । अब ‘म मण्डले हुँ’ भनेर फुर्ती दिंदा कोही डराउनेवाला छैन।’

‘चूप लाग्, भाते ! बढ्ता कुरा गर्छ ! जनतामा कसरी आतंक फैलाउने भन्ने योजना बनाउने जिम्मा हाम्रो कि तेरो ? जे भनेको छ, त्यो मात्र खुरुक्क गर्ने गर् । बढी बाठो हुने होइन, बुझिस् ?’ बूढा रन्किए, ‘तिनीहरूले गर्लान् नै के र ? हामीले उनीहरूलाई हातखुट्टा भाँचेर यातना दिए जस्तो उनीहरूले हामीलाई गर्ने होइनन् क्यारे । प्रजातन्त्रवादीले त्यसो गर्नै सक्तैनन् । अनि केको डर ?’

‘म पनि एउटा कुरा भनौं कि, हजूर ?’

‘भन्, छिटो भन् ।’

‘मेरो विचारमा, एक त जनतामा आतंक फैलाउने कसैलाई पनि, कसैले पनि छोड्दैन । त्यसमाथि लूटपाट, डकैती, आगजनी गर्न जाँदा जनताले अथवा पुलिसले कसैलाई समाते भने उसको तस्वीर, तीनपुस्ते नामावली र घर–ठेगाना समेत टेलिभिजनमा देखाउन र अखबारमा छाप्न थाल्छन् जस्तो छ ।’

‘हो र ? कसरी थाहा पाइस् ?’

‘मैले नेताहरूका घरतिर जाँदा खासखुस सुनेको, हजूर ! यस्तो भयो भने त हामीले कसरी काम गर्ने ? कसरी बाटामा हिंड्ने ? घर, टोल, छिमेकमा कसरी मुख देखाउने ? जिन्दगीभर सबैको थुकाइ खपेर कसरी बाँच्ने ?’

‘होइन होला । आई.जी.पी.लाई फोन लगा त ! यो सबै हाम्रा केटाहरूले गरिराखेका छन्, नसमात्नू, समातिहाले पनि फोटो छाप्न नदिनू भनिदिन्छु…’

‘तर, अब उसले हजूरको आदेश कहाँ मान्ला र ? अब हजूरको हैसियत नै के छ र ? कुनै जिम्मेदारी लिनु नपर्ने तर फोनका भरमा जसलाई जे पनि आदेश दिएर जुनसुकै काम पनि गराउने जमाना त अब गएन र ? रिसानी माफ होस् है हजूर !’

नरबहादुरले सुनायो, “त्यसपछि त्यहाँ निकै बेरसम्म मसानघाटको जस्तो मुर्दा–शान्ति र मौनता छायो । यस्तो लाग्थ्यो, मानौं सबैको मुखलाई प्यारालाइसिस र मस्तिष्कलाई छारे रोग लागेको छ ।”

उनीहरू फर्कंदा बिहानको साढे तीन बजेको थियो रे !

नरबहादुर भन्थ्यो, “म तीमध्ये धेरै जनालाई चिन्छु, हजूर ! नोकरी गए जाओस्, तर… !”

गोरखापत्र २०४७ वैशाख १० गते सोमवार

**********

थप कुरा :

. कटुसत्यलाई व्यंग्यको आवरण दिइएको यस आलेखका दुई मुख्य पात्र (अग्लो बूढो र पुड्के अधबैंसे) पञ्चायतका कुख्यात ‘गैरसंवैधानिक शक्तिकेन्द्र’ थिए— पञ्चायत विरोधीलाई तह लगाउन जुनसुकै उपाय अपनाउन सक्ने शक्ति र ‘हैसियत’ प्राप्त गरेका । दुवैजना यो संसार छोडेर गइसके । ‘दुई हप्ता अघिसम्म’ अर्थात् पञ्चायत व्यवस्थाको अन्तिम सातासम्म मन्त्री रहेका अर्का पात्र चाहिं बहुदलकालमा पनि कैयौं पटक मन्त्री बन्दै राजा ज्ञानेन्द्रका समेत शक्तिशाली मन्त्री बन्न भ्याए । अब पनि आफ्नो (पूर्व पञ्चहरूको) पार्टी फुटाएर ओली मन्त्रिपरिषदमा भित्रिए भने अचम्म नमाने हुन्छ, भित्रभित्र कुरा चलिरहेकै छ !

ख. पञ्चायतकालको अन्त्यमा पाँच महीना प्रतिबन्धित भएको यो स्तम्भ बहुदल आएपछि शुरू त भयो, तर दुई हप्ता चल्नासाथ फेरि रोकियो । स्तम्भ प्रतिबन्धित हुनाको कारण रहेको ‘घोर आपत्तिजनक’ लेख नै पहिलो हप्तामा छापिएपछि गोरखापत्र संस्थानका प्रमुखका दृष्टिमा साँच्चिकै घोर आपत्तिजनक ठहरिएर स्तम्भकारले कर्मचारीहरू सामु निकै कडा खप्की खानुपर्‍यो । त्यसलाई वास्ता नगरी दोस्रो हप्ता ‘अब हजूरको हैसियत नै के छ र ?’ लेखेपछि त स्थिति कल्पना भन्दा बाहिर नै पुग्यो । आलेख छापिएको भोलिपल्ट दिउसो अधिकांश कर्मचारीलाई संस्थानको रेलिङ विनाको खुला छतमा भेला पारेर आतंकपूर्ण वातावरण सृजना गरी संस्थान प्रमुखद्वारा स्तम्भकारलाई कडा चेतावनी र धम्की दिइयो, हातपातको प्रयास भयो । स्तम्भकारलाई ‘त्यही हूलमूलमा धक्का दिएर छतबाट खसालिदिने’ योजना मित्र आनन्दराम आचार्यले संयोगवश थाहा पाउनुभएको रहेछ र जोगाउनुभयो, नत्र कुरो अर्कै हुनेथियो !

ग. संस्थान प्रमुख चाहिं एक जना राणा थिए, जो आफूलाई यस आलेखको मुख्य पात्र (अग्लो बूढो) को भतिजो बताउँथे र वेलामौका आफ्नो पृष्ठभूमि (हार्डलाइनर मण्डले) को सगौरव बयान गर्थे । (उनलाई आलेख प्रीतिकर नलाग्नु स्वाभाविक थियो ।) यस घटनाको डेढ दशक पछि उनी पनि राजा ज्ञानेन्द्रका मन्त्री हुन पुगे । थप रमाइलो कुरा के भने, त्यस दिन स्तम्भकारलाई ‘हूलमूलमा धक्का दिएर छतबाट खसालिदिने’ कार्यभार स्वेच्छाले वहन गरेका महानुभाव कालान्तरमा सोही संस्थानको एउटा दैनिकका प्रधान सम्पादक बने र त्यस उप्रान्त कूटनीतिक नियुक्ति समेत पाउन सफल भए । जय होस् !

घ. स्वाभाविक थियो, यो आलेखपछि स्तम्भ फेरि बन्द भयो । तर यसपालिको प्रतिबन्ध लामो रहेन । सम्पादकको आग्रहमा दुई हप्तापछि स्तम्भ पुनः शुरू गरें । ‘भाँचिएको हात र पाइजामा’ शीर्षकको त्यो आलेख अर्को शनिवार ।