उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, जेठ ३० : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ।

गत वैशाख १६ गते सुरु भएको निषेधाज्ञा सोमबार सकिने भए पनि तत्काल सम्पूर्ण रुपमा निषेधाज्ञा खोल्ने अवस्था नरहेको भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए।

‘स्वास्थ्य मन्त्रालयलगायत सरोकारवालासँगको छलफलपछि कम्तीमा एक साता निषेघाज्ञा थप्ने तयारी गरिएको छ,’ प्रजिअ पराजुलीले भने,  ‘थप निर्णयका लागि आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरु बसेर निष्कर्ष निकालिनेछ।’

अहिले खेतीपातीको सिजन सुरु भएको र सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने घोषणा गरिसकेको हुँदा कृषिकार्य र विद्यालयका पुस्तक ढुवानी तथा बिक्रीको व्यवस्था मिलाइने उनले बताए।

यस्तै कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाई निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको उनले बताए।