कोरोनाबाट पूर्वराज्यमन्त्री विष्टको निधन

काठमाडौं, असार ६ : नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइसको संक्रमणबाट निधन भएको छ।
उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ।
उनी लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका थिए। २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।
त्यस्तै, उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए।
कांग्रेस सभापति देउवाले पूर्वराज्यमन्त्री विष्टको निधनमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत परिवारजनप्रति समवेदन प्रकट गरेका छन्।