७ पुस ०७७ को पार्टी निर्णय महन्थ पक्षले किर्ते गरेको खुलासा (डकुमेन्टसहित)

काठमाडौं, असार ७ : संघीय संसद्को चौथो दल जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले ७ पुस ०७७ को पार्टी निर्णय किर्ते गरेको खुलासा भएको छ।

उक्त दिन पार्टी केन्द्रीय कार्यकारिणी समितिले गरेको चार बुँदे निर्णय अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको थियो।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिने निर्णय त्यस दिन जसपा केन्द्रीय कार्यकारिणी समितिले गरेको थियो।

प्रधानमन्त्री ओलीको कदमप्रति धारणा सार्वजनिक गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको थियो। र, प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी संज्ञा दिइएको थियो। त्यसविरुद्ध जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको भनिएको र काठमाडौं प्रेसले प्राप्त गरेको माइन्युटको कपीबाटै निर्णय किर्ते गरिएको खुल्छ। उक्त पक्षले बुझाएको कागजातमा ७ पुस ०७७ मा तीनवटा निर्णय गरिएको देखिन्छ। प्रस्ताव र निर्णय नम्बर १ र २ मा प्रयोग गरिएको फन्ट नै प्रस्ताव नम्बर ३ को भन्दा बेग्लै छ। त्यसमाथि प्रस्ताव नम्बर १ र २ का निर्णयमा थप व्याख्या गरिएको छैन। पार्टी केन्द्रीय कार्यकारिणी समितिको हेरफेर र पुनर्गठन तथा बैठक बोलाउने तथा प्रमाणीकरण र पत्राचार गर्ने सबै अधिकार अध्यक्ष ठाकुरलाई दिन किन आवश्यक भयो भनेर कुनै व्याख्या छैन।

जब कि, प्रस्ताव र निर्णय नम्बर ३ मा प्रतिनिधिसभा विघटन’bout चारवटा बुँदा विस्तृत व्याख्या गरिएको छ। खासमा, त्यही बुँदामा मात्र ७ पुस ०७७ को केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो भन्ने बैठकलगत्तै दुवै अध्यक्षको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको वक्तव्यबाट पनि स्पष्ट हुन्छ।

‘८० वर्ष पुग्नुभएका वयोवृद्ध नेताले आफ्नै विगतको छवि धुमिल हुनेगरी किन यसरी फर्जी काम गर्नुभएको जानकारी पाउँदा अचम्ममा परेका छौँ,’ जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने, ‘उहाँले फर्जी काम गर्नुभएको छ। उहाँ आफैँले त्यो काम गर्नुभएन होला। उहाँका वरिपरिका मानिसले त्यस्तो फर्जी काम गर्न लगाएको छ भने ८० वर्ष पुगेको नेतामाथि गरिएको त्यो व्यवहार अभिशापपूर्ण छ। यो उहाँको राजनीतिक भविष्यमाथि गरिएको खेलबाड हो।’ एकजना अध्यक्षलाई सबै अधिकार प्रत्यायोजन गर्ने कुरा जसपाको सिद्धान्तविपरीत रहेको श्रेष्ठले बताए।

‘हामीले उहाँलाई त्यसरी एकलौटी निर्णय लिने अधिकार दिएका पनि छैनौँ। हाम्रो पार्टी अध्यक्षको हुकुमी शासन चल्ने पार्टी पनि होइन,’ श्रेष्ठले भने, ‘राजा, महाराजाको जस्तो हुकुमी शासन पार्टीमा चल्दैन र जसपा अध्यक्षात्मक प्रणालीमा चल्ने पार्टी पनि होइन।’

अध्यक्षात्मक प्रणालीमा चल्ने पुँजीवादी पार्टी आफूहरूले नबनाएको र सामूहिक नेतृत्वमा चल्ने समाजवादी पार्टी भएको जसपाको नामबाटै स्पष्ट हुने श्रेष्ठले बताए।

महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको डकुमेन्ट

७ पुस ०७७ मा ठाकुर र यादवले सार्वजनिक गरेको विज्ञप्ति