भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने प्रयास : नेपाल

काठमाडौं, असार ७ : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन (भ्याकेट) मा जाने निर्णय पार्टी एकता भंग गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि (पुनरावलोकन) भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने बताएका हुन् ।
उनले लेखेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’
यस्तै उनले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ भन्ने पनि सहजै देख्न सकिने उल्लेख गरेका छन् ।
उनले असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संबादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण समेत गराएका छन् ।
कर्णाली प्रदेश सभाका चार जना सांसदको कारबाही रोक्ने आदेशविरुद्ध नेकपा एमालेका तर्फबाट अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले भ्याकेट निवेदन दर्ता गराएका छन् ।
