माधव नेपाल निकट राईको दल नेकपा (एकीकृत) दर्ता, चुनाव चिह्न कलम

काठमाडौं, असार ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा नेता जीवन राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्। राई एमालेनिकट अनेरास्ववियुका पूर्वनेता पनि हुन्।

राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए। आयोगको जेठ ३० गतेको बैठकको निर्णयअनुसार आज (बुधबार) चुनाव चिह्न कलम हुने गरी प्रमाणपत्र दिइएको बताइएको छ।

दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताए। प्रमाणपत्र प्राप्त गरेसँगै उनी आधिकारिक रूपमा सो पार्टीका अध्यक्ष बनेका छन्। 

सबै पार्टीका नेताहरुसँग कुरा गरेर सबै कम्युनिस्टहरूलाई एकीकरण गर्दै लान नेकपा (एकीकृत) पार्टी खोलिएको अध्यक्ष राईले बताएका छन्। 

२५ सदस्यीय कार्यसमिति रहेको उक्त पार्टीमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष छन्।