प्रधानमन्त्री बन्न ‘अफर’ आएको छ तर गठबन्धनलाई धोका दिन सक्दिनँ : नेपाल

काठमाडौं, असार १२ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको तर उक्त प्रलोभनमा फसेर विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्।

गठबन्धनका शीर्ष नेताहरूद्वारा शनिबार आयोजित पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै नेपालले शेरबहादुर देउवालाई बीचैमा पत्तासाफ गरेर प्रधानमन्त्रीको कुर्सीमा बस्न भन्दै ‘अफर’ आएको तर त्यसलाई स्वीकार गर्न नसकिने बताएका हुन्।

ओली समूहकै केही नेताले देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाएर पार्टी एकता जोगाउनुपर्ने धारणा राख्दै आएका छन्। यहीबेला नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताएका हुन्।

संसद् पुनःस्थापनाको पक्षमा विपक्षी गठबन्धनका तर्फबाट आफूहरूले गरेको हस्ताक्षर फिर्ता लिएर गठबन्धनलाई धोका दिन नसक्ने भनाइ नेता नेपालको थियो।

पाँच दलीय गठबन्धन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता बचाउन गठन भएको उल्लेख गर्दै उनले ओलीसँग सहकार्यको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उनले भने। नेकपामा हुँदा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच फुट ल्याउन अनेक चाल चालिएको उनको भनाइ थियो।

नेता नेपालले शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुने भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचना गरे।

नेता नेपालले आफूहरुको लडाइँ ओलीविरुद्ध नभएर ओली प्रवृत्तिविरुद्ध भएको बताए।

ओलीमा सत्ता उन्माद रहेको बताउँदै उनले विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको  र त्यसको उदाहरणका रूपमा ओलीले नयाँ चरित्र पाएको उनले बताए।