राष्ट्रपति ओलीको कार्यकर्ता: देउवा

काठमाडौं, असार १२ : कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन्।

राजनीतिक बिटमा काम गर्ने संवाददाताहरूसँग संघीय संसद् भवनमा आयोजित छलफलमा उनले भने, ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने र मलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास छ।’

आफूहरूलाई प्रधानमन्त्री केपी ओलीसँग भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग ज्यादा दुःख लागेको उनले बताए। ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन्। १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्। केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ,’ उनले भने।

राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो मात्र बनेको उनले टिप्पणी गरे।

संविधानमा धारा ७६ (५) राख्नुको अर्थ सांसदहरूको स्वतन्त्रता स्वीकारिएको अर्थका रूपमा लिनुपर्ने देउवाले बताए।

आफूहरूले अदालतले प्रधानमन्त्री बनाओस् भन्ने नभई संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेको उनले उल्लेख गरे। ‘राष्ट्रपतिले को–कता छ भनेर सोध्नुपर्ने हो। तर, त्यसो नगरी राति दुई बजे संसद् भंग गरियो,’ उनले भने।

संविधानमा स्पष्ट लेखेको समेत नगर्ने राष्ट्रपतिले कसरी संविधाननको रक्षा गर्न सक्छ भन्दै उनले राष्ट्रपति भण्डारीको नियतमाथि प्रश्न उठाए। र, प्रधानमन्त्रीको कार्यकर्ताजस्तो व्यवहार प्रदर्शन गरेको दोहो¥याए।

‘राष्ट्रपतिले संविधान उलंघन गरेकाले करेक्सन गर्न अदालत गएका हौँ,’ उनले भने, ‘अदालतले हाम्रो दाबीअनुसारकै निर्णय गर्छ। हामीलाई विश्वास छ, अदालतले संविधानमा लेखेअनुसार गर्छ।’

उनले ओलीलाई अधिनायकवादी शासक संज्ञा दिए। ‘ओली संविधानवादी लोकतन्त्रवादी केही होइनन्। उनी मनपरी गर्ने अधिनायकवादी हुन्,’ उनले भने।