एमाले ओली समूहले १० बुँदे कार्यान्वयन गर्दै कार्यदल विघटन गरेकोछ

काठमाडौं, साउन १ : एमाले स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवाद समाधान गरी एकता कायम गर्न गठित कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।बैठकले कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक बसेको थियो।बैठकमा पार्टी अध्यक्ष केपी ओली समूहका नेताहरुको मात्र उपस्थिति थियो। बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य च्यासल पुगेका थिए।

बैठक भइरहेका ठाउँमा पुगेर उनीहरूले १० बुँदे सहमतिअनुसार अघि बढ्न र अहिलेलाई बैठक स्थगित गर्न आग्रह गरेका थिए।तर अध्यक्ष ओलीले बैठक जारी रहने भन्दै कार्यसूची अगाडि बढाउन निर्देशन दिएपछि नेपाल समूहका ती नेताहरु बाहिरिएका थिए।

त्यस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।बैठकले अहिलेको सरकार अश्वस्थ विधिबाट गठन भएको दाबी गर्दै सो सरकारलाई समर्थन नगर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए। ‘पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय बैठकले गरेको छ,’ उनले भने।