स्पष्टीकरण सोधिनुको कुनै अर्थ छैन : नेपाल समूह

काठमाडौं, साउन ६ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज (बुधबार) स्थायी कमिटी बैठक बसिरहँदा अध्यक्ष केपी ओलीले स्पष्टीकरण २४ घन्टे स्पष्टीकरण सोधेका छन्।

तर नेपाल समूहले उक्त स्पष्टीकरणको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ। ओलीको पत्र प्राप्त भएपछि नेपाल समूहले यस्तो प्रतिक्रिया दिएको हो। 

बैठकमा सहभागी एक नेताका अनुसार अनुसार स्थायी समिति बैठकले नेता नेपालविरुद्ध भइरहेका गतिविधि तत्काल बन्द गर्न प्रस्तावसमेत पारित गरेको छ। 

एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने कार्य रोकिनुपर्ने प्रस्तावमा उल्लेख छ।

संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्ने पनि नेपाल समूहको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा उल्लेख छ। 

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको पत्र आज पठाएको छ।

स्पष्टीकरण पत्रमा पार्टीविरुद्ध विभिन्न भेला आयोजना गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र पार्टीको निर्णयविरुद्ध विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य गरेको आरोप लगाइएको छ। 

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सो निर्णयको भोलिपल्टको मिति अर्थात् साउन ५ गतेको मिति राखेर आज बुधबार (साउन ६ गते) मात्र पत्र पठाइएको हो।

आज (बुधबार) एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको छ। यसअघि सोमबार र मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। 

ती सबै बैठकमा ती कुनै बैठकमा नेपाल समूह अनुपस्थित रहँदै आएकाे छ।