सरकारले सयदिने महामारी नियन्त्रण योजना सुरु गर्ने
काठमाडौं, साउन १७ : सरकारले एक सयदिने महामारी नियन्त्रण योजना लागू गर्ने भएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यससम्बन्धी जानकारी दिएका छन् ।
उनका अनुसार कोभिड–१९ संक्रमणको बढ्दो चुनौतीलाई दृष्टिगत गर्दै सरकारले एक सयदिने महामारी नियन्त्रण योजना तयार गरी प्रभावकारिताका साथ लागू गर्न लागेको हो ।
‘आज गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा गृह मन्त्रालयमातहतका सुरक्षा प्रमुख र स्वास्थ्य मन्त्रालयबीच जनस्वास्थ्य मापदण्ड पालना गराउने, एक सयदिने कार्ययोजना सार्वजनिक गरी प्रभावकारितासाथ लागू गर्ने, खोपको पहुँच विस्तार गर्ने विषयमा छलफल भएको छ,’ राज्यमन्त्री श्रेष्ठले लेखेका छन् ।