पार्टी जोगाउन नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नु पर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रजा परीषद हुनबाट जोगाउन पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नु पर्ने विचार सो पार्टीका नेताहरुले व्यक्त गरेका छन् ।

राप्रपाको सिद्धान्त अरु दलहरुले उठाउन थालेको, परम्परागत समर्थकहरुको पार्टी नेतृत्वमाथि विश्वास नरहेको, एकीकरण पछि पार्टीमा निषेध कायम रहेको, पार्टी गतिहिन बनेको, विधान मिच्ने अप्रजातान्त्रिक शैली जारी रहेको, विगतका गल्तीबाट पाठ नसिकेको, युवाहरुलाई पूर्ण बहिष्करण गरिएको भन्दै सो पार्टीका नेताहरुले राप्रपालाई बचाउन पुस्तान्तरण आवश्यक रहेको बताएका हुन् ।

धुम्बाराहीस्थित स्काई लाउन्जमा आयोजित एक अन्तरक्रियाको अवसरमा राप्रपाका नेताहरुले राप्रपा एकीकरण घोषणा भएको करिव दुई वर्ष भइसक्दा पनि पार्टी एकीकरण प्रक्रिया सम्पन्न नभएकोमा चिन्ता प्रकट गरे । तत्कालीन राप्रपा र राप्रपा संयुक्तका जिल्ला समितिहरु जिवितै रहेको अवस्थामा कसरी महाधिवेशन सम्पन्न हुन्छ ? स्थानीय चुनावमा कसरी सफलता प्राप्त हुन्छ ? भन्ने प्रश्न उठाए ।

सो अवसरमा पार्टीलाई सही लक्ष्य र गन्तव्यमा पुर्याउन अध्यक्ष पदको उम्मेद्वार बन्ने राप्रपाका नेता, पूर्वमन्त्री जगत गौचनले घोषणा गरे । नेतृत्व दोस्रो पुस्तामा आउन आवश्यक रहेको, पार्टीमा युवाहरुको भूमिका स्वभाविक रहेको उनको भनाइ थियो ।

‘अध्यक्षत्रयहरू सहमति गर्नुहोस्, बाटो निकाल्नुहा्ेस्, नत्र भए दोस्रो पुस्ताबाट म अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गर्दछु । राजसंस्थाको आधारशीला लगायत पार्टीलाई सही गन्तव्यमा लैजाने आँट र विश्वास छ,’ राप्रपाका निर्देशन समितिका सदस्य गौचनले भने ।

राप्रपाका नेता धवलशम्शेर राणाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरीसकेका छन् । सांसद राजेन्द्र लिङ्देन पनि दोस्रो पुस्ताको पक्षमा क्रियाशील छन् ।

महाधिवेशनकेन्द्रीत उक्त भेलामा राप्रपाका विशेष समिति, निर्देशन समिति, कार्यसम्पादन समिति, केन्द्रीय कार्य समितिका सदस्यहरू लगायत भातृ संगठनका पदाधिकारी समेतको उपस्थिति थियो ।

अन्तरक्रियामा धारणा राख्ने वक्ताहरुले राप्रपाको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नुको विकल्प नरहेको बताए । दोस्रो पुस्तामा नेतृत्व सारेर, वरीष्ठ पुस्ताको सम्मान र उचित व्यवस्थापन हुनु पर्ने तिनले बताए । यस घडीमा पार्टी विभाजन कल्पना पनि गर्न नसकिने भन्दै पार्टी एकतामा वक्ताहरुले जोड दिएका थिए ।