पहिरोको चपेटामा दोलखाको लापिलाङबासी हेरौं तस्विरहरु


दोलखा, साउन ३१: कालिन्चोक गाउँपालिका ५ लापिलाङका बासिन्दा अहिले पहिरोको चपेटामा छन् । बस्ती मुनिबाट र माथि दुबैतिरबाट पहिरो चलिरहेका कारण उनीहरु छिमेकीको शरण लिन बाध्य छन् ।

दिनभर बचेखुचेको खेतबारीमा काम गर्छन् र रात परेपछि छिमेकीको घरमा बास बस्न जानु उनीहरुको बाध्यता भएको छ । बस्तीमाथिबाट अघिल्लो वर्षदेखि नै २ वटा पहिरो चलिरहेको छ र यसवर्षबाट बस्तीमुनिबाट पनि पहिरो चलिरहेको छ । पहिरोका कारण बस्तीका कम्तीमा एक सय ५० परिवार जोखिममा परेको छन् ।

भर्खरै बनाएको गणेश श्रेष्ठको घर पहिरो तान्न लागेको छ । ‘पहिरोले खेत पनि लग्यो, घर पनि लान लागिरहेछ, श्रीमती गर्भवती छन्, अर्काको घरमा शरण लिनुपरेको छ ।’ गणेशको गुनासो छ ।

स्थानीय थिरबहादुर थामीको पनि उस्तै हाल छ । पोहोर मात्रै ११ लाख खर्चेर किनेको ८ पाथी धानको बीउ जाने खेतको नामोनिसान छैन । भएको अर्को एक माना मकैको बीउ जाने बारी पनि पहिरोले तान्न लागेको छ । पोहोर माथिबाट आएको पहिरोले २ कित्ता जग्गा बगायो । ‘४ छोरासहित १५ जनाको परिवार छ, अब कसरी पाल्ने होला ।’ थिरबहादुरको दुखेसो छ ।



यस्तै अवस्था लापिलाङका डेढ सय भन्दा धेरै परिवारको छ । कतिपय परिवार अहिले विस्थापित भैसकेका छन्, कतिपय विस्थापित हुने त्रासमा छन् । पहिरो निरन्तर चलिरहेको छ । अझ दोलखामा पहिरो जाने महिना भदौ आउने बाँँकी भएकोले झनै त्रासमा छन् उनीहरु ।

अहिले पहिरोको चपेटामा परेका लापिलाङबासीलाई तत्कालीन सहयोगको लागि माननीय जिपछिरिङ लामाले १ सय ५० परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेस दोलखाका पार्टी सचिवद्वय सन्तोष रिमाल र बालकृष्ण आचार्य तथा नेपाली कांग्रेस कालिन्चोक गाउँपालिकाका सभापति अर्जुन शिवाकोटीले ती पीडितहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । प्रत्येक परिवारले ३० केजी चामल, ५ केजी दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्री पाएका छन् ।

शव्द/तस्विर : शम्भु गौतम