जेठ २ मा फर्किएर क्रियाशील हुन एमालेको निर्देशन

काठमाडौं, भदौं ८ : नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ । एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने स्थायी कमिटी बैठकले निर्णय गरेको सचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीहरुलाई जानकारी गराए ।

 “पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ,” बैठकपछि पत्रकार सम्मेलनका क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

यस्तै, १० बुँदे सहमति कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधानका लागि  तथा केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनयन, केन्द्रीय निकाय तथा विभागलाई पूर्णता दिन र पुनर्गठन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार कार्यदलमा इश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।