आजबाट काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठ्ने

काठमाडौं, भदौ १६ : काठमाडौंका सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ।

एक महिनादेखि थुप्र्रिको फोहोर आजबाट उठाउने सहमति बनेको छ। वर्षाले नुवाकोटको सिसडोलमा फोहोर फाल्न समस्या भएपछि सडकमै थुप्रिएको थियो।

यससँगै स्थानीय बासिन्दाले पनि फोहोर विसर्जनमा अवरोध गरेका थिए। मंगलबार काठमाडौं महानगरपालिका र ल्यान्डफिल साइट (नुवाकोटको सिसडोल)का बासिन्दबीच सम्झौता भएसँगै अवरोध हट्ने भएको हो।

काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको छ। वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी  गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीबीच सहमति भएको हो।

सहमितमा तीनपिप्ले–सिसडोल सडक तत्काल (१५ दिनभित्र) ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेन्डर प्रक्रियामा जाने सहमति बनेको छ। त्यस्तै, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सहमति भएको छ।