खण्डन

‘तपाईंले कुरै बुझ्नुभएको छैन । जुन कुरो हामीले गर्दा महान् नीति र सिद्धान्त हुन्छ, त्यही कुरो अर्काले भन्दा आरोप हुन्छ । हत्या, हिंसा, आतंक, सत्ता कब्जा, अधिनायकवाद सबै यस्तै कुरा हुन् । आरोप लागिसकेपछि खण्डन गर्नुपरेन ?’


जम्काभेट रत्नपार्कमा भयो । कमरेड क्रान्तिकारीले मेरो कुमसम्म झड्किने गरी अररा हात मिलाए । ‘ऐया’ भन्न रोकेर मैले जिज्ञासा गरें :

‘फेरि अर्को पत्रकारलाई सफाया गर्न खोज्नुभएछ नि ?

‘को पत्रकार ?’ उनले कुरा नबुझे जस्तो गरे ।

‘रुकुमकी बिष्ट नि’, मैले पत्रकारको नाम लिएर भनें, ‘पत्रकार, त्यसमाथि महिलालाई त्यस्तो निर्मम यातना दिएर मार्न खोज्नु त हदै भयो । तपाईंहरू यो बर्बरता त्याग्न सक्नुहुन्न ?’

‘हामीले त्यसको खण्डन गरिसकेका छौं ।’ उनको जवाफ थियो ।

‘कहिले गर्नुभयो ?’ मैले भनें, ‘हामीले त थाहा पाएका छैनौं ।’

‘हो र ?’ उनी अलमलिए, ‘पहिले खण्डन तयार पारेर त्यसपछि मात्र कारवाही गर्नू भन्ने आन्तरिक सर्कुलर त पार्टीले बीचबीचमा जारी गरिरहेकै छ । कमरेडहरूबाट त्यसमा लापरवाही कसरी हुन सक्छ ?’

उनले मोबाइलमा कसैको नम्बर थिचे र खण्डन’bout सोधपूछ गरे । अनि भने, ‘यसपालि हाम्रै कमजोरी भएछ । कमरेडहरूले मोबाइल खोस्नु अघि नै उसले एउटा फोन गर्न भ्याइहालिछ । पत्रकारहरू तत्काल सक्रिय भएकाले कमरेडहरूमा भागाभाग परेछ, वक्तव्य फ्याक्स गर्नै भ्याएनछन् ।’

‘अघि अघि त तपाईंहरूको खण्डन लगभग घटनासँगै आउँथ्यो नि ?’ मैले जिस्क्याएँ ।

‘कारवाही भइसक्ता नसक्तै खण्डन आइसकोस्, एक मिनेट पनि ढीला नहोस् भन्ने हाम्रो रणनीति हो । तर एकचोटि झण्डै फँसियो ।’ उनी खिसिक्क हाँसे, ‘एकपल्ट एउटा टोली कारवाही गर्न र अर्को टोली खण्डनको वक्तव्य पत्रकारलाई बाँड्न एकैचोटि निस्केछन् । यता खण्डन बाँडिसकिएछ, उता त्यो दिन दुर्भाग्यवश कारवाही हुनै पाएनछ । धन्न जिल्लाको केस पर्यो र हतार हतार सबै पत्रकारहरूबाट खण्डन खिचेर राख्यौं । कसैले काठमाडौं फ्याक्स गरिदिएको भए बित्यासै पर्ने । त्यो घटनाबाट शिक्षा लिएर कारवाही भएको कन्फर्म नभएसम्म खण्डन नगर्ने भन्ने निर्देशन दिइएको छ ।’

‘खण्डन गरेर सत्य ढाकिन्छ र ?’ मेरो प्रश्न थियो ।

‘खण्डन त गर्नैपर्छ । हामी नीतिगत रूपमै खण्डनवादी हौं ।’ उनले सम्झाउन खोजे ।

‘कस्तो खण्डनवादी ?’

‘दुवै खालको । हामी अरूका कुरा खण्डन गर्छौं र हाम्रा कुरा नमान्नेलाई पनि खण्डन गर्छौं । खण्डन भनेको काटेर टुक्रा पार्नु होइन ? मान्छे होस् चाहे देश, हामीलाई खण्डनसँग मतलब छ ।’

‘त्यसो भए त्यही कुरा किन स्वीकार गर्नुहुन्न ? किन पहिले नै खण्डनको वक्तव्य तयार पार्नुहुन्छ ?’

‘तपाईंले कुरै बुझ्नुभएको छैन । जुन कुरो हामीले गर्दा महान् नीति र सिद्धान्त हुन्छ, त्यही कुरो अर्काले भन्दा आरोप हुन्छ । हत्या, हिंसा, आतंक, सत्ता कब्जा, अधिनायकवाद सबै यस्तै कुरा हुन् । आरोप लागिसकेपछि खण्डन गर्नुपरेन ?’

‘ए, त्यसो पो ?’ मैले भनें ।

‘अँ । तर हामी यसलाई पनि रणनीतिक रूपमा चरणबद्ध ढंगले अघि बढाउँछौं ।’ उनले भने ।

‘जस्तै ?’

‘पहिले घटनामा संलग्नताको खण्डन गर्छौं । केही दिन त्यसैमा बित्छ । हाम्रो मान्छे लुकाउन सकियो भने ठीकै छ, सकिएन भने अर्को चरणमा जान्छौं । व्यक्ति मात्र संलग्न हो, पार्टीको संलग्नता छैन भनेर खण्डन गर्छौं ।’

‘पार्टीकै संलग्नता देखियो भने नि ?’

‘पार्टीको नीति त्यस्तो छैन, मान्छे मार्नु अब हाम्रो घोषित नीति रहेन भनेर खण्डन गर्छौं । मुलुकलाई यस्ता झिनामसिना कुरामा अल्झाएर समयमै संविधान निर्माण गर्न नदिने देशी–विदेशी षडयन्त्रकारीहरू विरुद्ध सचेत रहन जनतालाई आव्हान गर्छौं ।’

‘मान्छे पक्राउ पर्यो र योजना सार्वजनिक भयो भने नि ?’

‘पहिलेका खण्डनहरूको मौन खण्डन गर्दै उसलाई पार्टीले आफैं कारवाही गर्छ भन्छौं र आफूसँगै राख्छौं ।’

‘त्यसो गर्दा आफ्नै कार्यकर्ता भड्किंदैनन् ?’

‘किन भड्किन्थे ? बरु अलिक दिन पछि उसको प्रमोशन भएको देखेपछि आफू पनि त्यस्तै काम गरेर प्रमोशन खान उत्प्रेरित हुन्छन् ।’

मैले भनें, ‘तर जनताले त प्रश्न उठाउँछन् नि ?’

उनी कड्किए, ‘को हो जनता भनेको ? तिनले हाम्रा विरुद्ध कसरी प्रश्न उठाउन सक्छन् ? तिनले हामीलाई चिनेका छैनन् र ? प्रश्न उठाउने त प्रतिक्रियावादी राज्यसत्ताका दलाल हुन् । तिनलाई हामी त्यसै छोडौंला र ?’

‘तैपनि प्रश्न त उठिहाल्छ …’

‘त्यसवेला, अपराधीलाई पक्रेर कारवाही गर्ने काम सरकारको हो, पार्टीको होइन भनेर प्रश्नको खण्डन गर्न हामीले जानेका छैनौं र ?’

‘सरकार सधैं चूप लागेर बस्ला त ?’

‘यो कठपुतली सरकारसँग के विकल्प छ त ?’

‘ल भैगो । तर तपाईंहरू दुनियाँका सामु कहिले हामी सभ्य हौं भनेर, कहिले लोकतन्त्रको कुरा गरेर, कहिले अधिनायकवादको विरोध गरेर आफ्नै सिद्धान्तको खण्डन गरिरहनुभएकै छ । खण्डनवादी नीतिलाई त्यसैमा सीमित गरेर मान्छेको खण्डन गर्न चाहिं छोडिदिए हुँदैन ?’

‘हामी जनताकै पक्षमा छौं । तर प्रतिक्रियावादीका दलालहरू जीवित रहेसम्म जनक्रान्ति कसरी सफल हुन सक्छ ?’

‘सबैको खण्डन गर्दै जाँदा कहाँ पुगिएला ?’ मैले प्रश्न गरें ।

‘प्रकृतिको नियम हो । त्यसमा के चिन्ता गर्नु ? त्यसै पनि नेपालमा मानिसको मृत्युदर शतप्रतिशत छ ।’ उनले तर्क गरे ।

म जिल्ल परें । र भनें, ‘शतप्रतिशत ? कसरी ??’

उनले अथ्र्याए, ‘गीतामा तपाईंकै भगवान कृष्णले भनेका छन् नि— जो जन्मिन्छ उसको मृत्यु निश्चित छ । भएन शतप्रतिशत ?

मलाई लाग्यो, ‘म पनि उनको ‘खण्डन’ गरौं । तर कसरी ?’

‘यो साता’, २०६६ पुस ३–९ शुक्रवार    

(निको भैसकेको पुरानो त्यो घाउ, अनायास नै फेरि बल्झेर बढ्छ… भने झैं, आजको अफगानिस्तानका तालिबानीले सम्झाएको, हिजोको नेपालका क्रान्तिकारी ’boutको आलेख ।)