आर्थिक संकटमा क्रिकेट रंगशाला, क-कसले दिएनन् कबोल गरेको रकम ?
कुलप्रसाद काफ्ले
चितवन, ४ असोज : चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको काम नै ठप्प बन्न पुगेको हाे । रंगशालाको लागि कबोल गरेको रकमसमेत उठ्न सकेको छैन ।
कुनै बेला दिनमै २ सय १७ जना कामदारले काम गर्ने गरेकोमा अहिले ५/६ जनाले मैदानमा लगाइएको दुबोमा पानी हाल्ने र गोडमेल गर्ने काम मात्रै गरिरहेका छन् । गएको जेठदेखि रंगशालाको आर्थिक स्राेत जुट्न ठप्प बनेको छ । जनस्तरबाट सहयोग जुटाएर रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनले सरकारको सहयोगको आवश्यकता परेको जनाएको छ ।
आर्थिक सहयोग गरिदिन भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) केही दिनअघि काठमाडौं पुगेर नेता र मन्त्रीहरूसँग भेटघाट गरिरहेका छन् । रंगशाला निर्माणको काम ३५ प्रतिशत सकिएको धुर्मुसले बताए । आर्थिक सहयोग जुट्न नसकेपछि १५ साउनदेखि निर्माण कार्य अघि बढ्न नसकेको उनले जानकारी दिए ।
‘आर्थिक अभावका कारण रंगशालाको काम प्रभावित भएपछि सरकारलाई जानकारी गराएका छौं। सकरात्मक प्रतिक्रिया आएको छ’, उनले भने । निर्माण सम्पन्न भएपछि भरतपुर महानगरलाई नै हस्तान्तरण गरिने भएकाले सरकारसँग आर्थिक सहयोग मागिएको उनले बताए ।
करिब ३ अर्ब अनुमानित लागत रहेको रंगशाला निर्माणमा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये १६ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको काम उधारोमा भएको रंगशाला निर्माण परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाले बताए । फाउण्डेशनले निर्माण सामग्री खरिद र कामदारलाई उधारोमा काममा लगाएर रंगशालाको निर्माण गर्दै आएको हो ।
तिर्न बाँकी रकम १६ करोड नाघेपछि निर्माण कार्य ठप्प बनेको उनले बताए । महायज्ञमा कबोल भएको रकम पनि उठ्न नसकेकाे तिमिल्सिनाले बताए ।रंगशाला निर्माण सहयोगार्थ २०७६ माघमा महायज्ञको आयोजना गरिएको थियो । त्यतिबेला थुप्रै व्यक्तिले महायज्ञमा आफ्नो नाम सार्वजनिक हुने र प्रचार हुने मोहले आर्थिक सहयोग गर्ने कबोल गरे । अझैसम्म पनि कबोल गरेको रकम नदिएकाे फाउण्डेसनले जनाएकाे छ ।
महायज्ञमा जिन्सी, बोलकबोल र नगदसहित ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको थियो । सरकारी निकायले दिएको बाहेक जम्मा ९ करोड २५ लाख ५९ हजार रुपैयाँ कबोल रकम उठेको तिमिल्सिनाले बताए । सरकारी निकायले मात्रै ५१ करोड १२ लाख ३० हजार ८३२ रूपैयाँ सहयोग गर्ने बताएका थिए ।
भरतपुर–१५ मा निर्माण भइरहेको रंगशालालाई भरतपुर महानगरले नै कबोल गरेको रकम दिएको छैन । महानगरले १६ करोड रुपैयाँ दिने कबोल गरेकोमा हालसम्म जम्मा ८ करोड मात्रै दिएको तिमिल्सिनाले जानकारी दिए । भरतपुर–१३ को वडा कार्यालयले ५ लाख रुपैयाँ दिएको छ । बागमती प्रदेश सरकारले पनि कबोल गरेको रकम अझै दिएको छैन । उसले ३० करोड कबोल गरेकोमा जम्मा ३ करोड मात्रै दिएको छ ।
कबोल गरेको रकम नदिनेमा वर्तमान स्वास्थ्य राज्यमन्त्रीदेखि व्यावसायीक संस्थासम्म रहेका छन् । वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफुले कबोल गरेको ११ लाख ५१ हजार रुपैयाँ दिएका छैनन् । त्यस्तै, संघीय सांसद उमा रेग्मीले २० हजार, बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले २ लाख १ हजार, बलराम पौडेलले ५५ हजार, अन्जनी श्रेष्ठले ५१ हजार र रिना गुरुङले ५० हजार रुपैयाँ कबोल रकम अझै दिएका छैनन् ।
स्थानीय तहले दिएनन् कबोल रकम
जिल्ला समन्वय समिति चितवनलगायत जिल्लाका स्थानीय तहलेसमेत कबोल रकम दिएका छैनन् । जिससले २ करोड २२ लाख रुपैयाँ दिने कबोल गरेकोमा अहिलेसम्म जम्मा ५० लाख ९२ हजार रुपैयाँ मात्रै दिएको छ । माडी नगरपालिकाले ३० लाख कबोल गरेकोमा एक पैसा पनि दिएको छैन ।
त्यसैगरी, रत्ननगर नगरपालिकाले १७ लाख कबोल गरेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएको छ । राप्ती नगरपालिकाले ९ लाख कबोल गरेकोमा ५ लाख दिइसकेको छ । बाँकी ४ लाख रुपैयाँ स्थानीय व्यापारीहरूबाट संकलन गरेर दिने भनेकोमा अहिलेसम्म दिएको छैन ।
आफ्नै जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाको लागि खैरहनी नगरपालिकाले न कबोल गर्यो न आर्थिक सहयोग नै । कालिका नगरपालिकाले कबोल गरेको १५ लाख ५५ हजार र इच्छाकामना गाउँपालिकाले कबोल गरेको ११ लाख ११ हजार रुपैयाँ पुरै दिइसकेका छन् । जिल्ला समन्वय महासंघले कबोल गरेको ७७ लाख रुपैयाँ पनि अझै प्राप्त नभएको तिमिल्सिनाले बताए ।
व्यवसायीका संस्थाले पनि दिएनन्
व्यवसायीहरूका छाता संस्थाहरूले पनि महायज्ञमा कबोल गरेको रकम दिएका छैनन् । एलपी ग्यास उद्योगले कबोल गरेको १ करोड, निर्माण व्यवसायी संघ चितवनले कबोल गरेको २० लाख रुपैयाँ रंगशालाले पाएको छैन ।
नेपाल पोल्ट्री महासंघले १ करोड कबोल गरेकोमा ४० लाख ५० हजार दिएको छ । बाँकी ५९ लाख ५० हजार रुपैयाँ अझै दिएको छैन । पुरानो मेडिकल कलेजका सञ्चालक प्राडा भीमप्रसाद नटराजले कबोल गरेको २० लाख रुपैयाँ दिएका छैनन् । चितवन मेडिकल कलेजले ५० लाखको प्राथमिक उपचार गराउन मिल्ने भवन निर्माण गरिदिने बताएको थियो । त्यसको पनि काम भएको छैन ।
३० हजार दर्शक अट्ने क्षमताको निर्माणाधीन रंगशालाको मुख्य मैदान र तीन हजार दर्शक अट्ने प्याराफिट तयार भइसकेको छ । मैदानमा पिच निर्माण गर्न बाँकी छ । मुख्य मैदानको छेउमा नमुना मैदान पनि बनाइएको छ । नमुना मैदानमा क्रिकेट प्रतियोगिता हुँदै आएकोमा कोरोना महामारीका कारण रोकिएको छ । नमुना क्रिकेट मैदानमा खेल हुँदा त्यसबाट पनि फाउण्डेशनले आर्थिक संकलन गर्दै आएको थियो ।(न्युज कारखाना)