‘बर्रे काण्ड’बाट उदाएका बेदुराम : बुढेशकालमा विद्यावारिधि


काठमाडौं । एमालेको नर्वौं महाधिवेशनमा सचिव पदमा पराजीत बेदुराम भुषाल एकीकृत समाजवादीको महासचिव चयन भएका छन् ।
एमालेमा रहँदा नै माधवकुमार नेपाल समूहमा रहेका भुषालको राजनीतिक जिवन भने संघर्षमय नै रह्यो ।
१६ वर्षको उमेरदेखि शक्रिय कम्युनिष्ट राजनीतिमा लागेका भुषाल १९ वर्षको उमेरमै जेल परेका थिए । हरेबर्रे काण्डमा सहभागी भएबापत तात्कालीन पंचायती सरकारले उनलाई पक्राउ गरेको थियो ।

२०४६ को परिवर्तनपछि उनी एमालेको रुपन्देही जिल्ला सचिव भए । राष्ट्रिय सभामा दुइ पटक सदस्य भएका भुषाल नर्वौ महाधिवेशनपछि एमालेमा स्थायी समिति सदस्य भएका थिए ।

‘हर्रेबर्रे काण्ड’का अगुवा

विसं २०२५ मा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेकपाको तेश्रो सम्मेलनले ‘जनावादी कार्यक्रम’ पारीत गरी लुम्बिनी अंचलमा किसान आन्दोलन चलाउने निर्णय गरेको थियो । सोही क्रममा २६ कार्तिक २०३० मा लुम्बिनी अंचलभरी किसानहरुले जुलुस निकाले ।

‘सामन्ती सफाया अभियान’का क्रममा २८ फागुन, २०३० मा अर्घाखाँचीको तात्कालीन सिद्धधारा गाउँ पंचायतका अध्यक्ष शोभाखर बेलबासेको घरमा केशरमणि पोखरेलको कमान्डमा युवा कम्युनिष्टहरुले आक्रमण गर्ने निधो गरे ।

‘हर्रेबरें संघर्ष’का नामले चर्चित सो आक्रमणमा पिताम्बर भुषाल, देवराज भार, बुद्धी रायमाझी, नेत्र ढुँगानासहित बेदुराम भुषाल पनि सहभागी थिए ।

गाउँ पंचायत अध्यक्ष शोभाखरले नक्कली तमसुक र चर्को व्याजबाट किसानमाथि शोषण गरेको आन्दोलनकारीको ठहर थियो । शोभाखरसँग बन्दुक भएको सूचनाका आधारमा कम्युनिष्ट युवाहरु पनि हतियार बोकेर आक्रमणका लागि गएका थिए ।

आक्रमणकारी कम्युनिष्ट युवाले शोभाखरको घर घेरे । उनीहरुले बन्दुक फायर गरेपछि शोभाखरको घरतर्फ पनि जवाफी फायर भयो । केहीबेरमै शोभाखरको घरतर्फबाट भइरहेको फायरीङ रोकियो । कम्युनिष्ट युवाले शोभाखरको घरका सबै तमसुक जलाए ।

शोभाखरलाई अब आइन्दा किसानमाथि शोषण नगर्ने कबुलनामा गराए । यति मात्र हैन, बेदुराम भुषालसहितको टोलीले शोभाखरको घरबाट सुनचाँदी र नगद गरी करीब तिस हजार रुपैयाँ लुटे । हर्रेबर्रे काण्डले ठूलै सनसनी मच्चायो । १५ दिनपछि आक्रमणमा सहभागी भुाषालसहित ९ जना पक्राउ गरे ।

६६ वर्षमा पिएचडी

पक्राउ परेपछि भुषाल करीब १२ वर्ष जेलमै रहे । उनी त्यसबेला कक्षा आठमा पढथे । जेल परे पनि उनले पढन भने छाडेनन् । जेलमै उनले एसएलसीदेखि एमएसम्मको पढाइ पुरा गरे, २६ वर्षको उमेरमा ।

गुल्मीको तम्घास जेल नै उनका लागि शिक्षण संस्था सरह भयो । एमए पढदा भद्रगोल जेलमा रहेका भुषाल एमए दोश्रो वर्षको परिक्षा दिदै गर्दा विसं २०४३, जेठमा रिहा भएका थिए । विसं २०४६ पछि एमालेको पार्टी राजनीतिमा रहे । पार्टी स्कूल विभाग प्रमुख भए ।

अध्ययनशील नेता भुषालले विचमा टुटेको आफ्नो पढाइको सिलसिलालाई केही वर्षअघिदेखि निरन्तरता दिदै आएका थिए । दुइ वर्षअघि मात्र उनले नेपालमै पहिलो पटक राजनीतिक सिद्धान्त र इतिहासमा विद्यावारिधि गरे । ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम र नेपाल’ विषयमा विद्यावारिधि गर्दा उनको उमेर ६६ वर्ष थियो ।