दिल्लीको अदालतमा गोली हानाहान, ग्याङस्टर गोगीसहित तीनजनाको मृत्यु


काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको रोहिणी अदालत अगाडी गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
भारतीय संचार संस्था एएनआइका अनुसार शुक्रवार केही हतियारधारीले गोली चलाएका थिए । त्यसक्रममा ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको छ । प्रहरीको जवाफी फायरीङमा दुइ आक्रमणकारी पनि मारिए ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । गोली हानाहानका क्रममा एक महिला वकिलसहित तिन जना घाइते भएका छन् ।
ग्याङस्टर गोगीलाई तिहाड जेलबाट अदालतमा पेशीका लागि ल्याइएको थियो । अदालत परिसरमा ल्याउनासाथ गोगीविरोधी ग्याङमा रहेका दुइजनाले उनीमाथि गोली चलाउन थाले ।

वकिलको पोशाकमा आएकारले आक्रमणकारीले अदालतमा सहजै प्रवेश पाएका थिए । गोलीको आवाज सुन्नासाथ अदालतमा रहेका सुरक्षाकर्मी सजग भए । दुई आक्रमणकारी मारिए ।


को हुन गोगी ?


मस्ट वान्टेड सूचीमा रहेका ग्याङगस्टर गोगी तिहाड जेलबाटै दुबइका व्यवसायीसँग ५ करोड मागेका कारण चर्चामा थिए । उनले जेलबाटै पैसा वसुली, फिरौतीका लागि अपहरण र हत्यासमेतको अपराधिक कार्य गर्दै आएका थिए ।

गोगी यसअघि तिन पटकसम्म प्रहरी हिरासतबाट फरार हुन सफल भएका थिए । चार वर्षसम्म प्रहरीलाई झुक्याउन सफल गोगीको सुराकी दिनेलाई हरियाणा प्रहरीले दुइ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो । अन्ततः दिल्ली प्रहरीको ‘स्पेशल सेल’ले गत वर्ष ३ मार्चमा गोगीलाई गुडगाउँबाट पक्राउ गरेको थियो ।

प्रहरीको घेराबन्दीमा परेपछि इन्काउन्टरबाट बच्न गोगीले आत्मसमर्पण मात्र गरेनन्, त्यो भिडियो भाइरल गराइदिए । अन्यथा उनको त्यही इन्काउन्टर हुने सम्भावना थियो ।

अदालतमा भएको ग्याङ वार गोगी र टिल्लू ग्याङविचको थियो । उनीहरुविच हालसम्म धेरै पटक गोली हानाहान भइसकेको छ । यसक्रममा २४ भन्दा बढी गुन्डाहरु मारिइसकेका छन् । ३० वर्षको उमेरमै अपराधको दुनियाँमा कुख्याती कमाएका गोगी र टिल्लू ग्याङबिचको द्वन्द्व कलेज पढदादेखिकै रिसरागमा आधारित भएको प्रहरीले जनाएको छ ।