कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज,देउवा–सिटौला र प्रकाशमान–गगन समूह भिड्दै


काठमाडौँ, १६ असोज : नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको राससलाई जानकारी दिनुभयो । काठमाडौँको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ कोे क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा आज निर्वाचन सम्पन्न गर्न नसकिएको आचार्यले बताउनुभयो ।

महानगरको अधिवेशनमा पौडेल समूहमा रहेका नेता प्रकाशमान सिंह र युवा नेता थापाबीच गठजोड बनेको छ भने सिटौला समूहमा रहेका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई साथ दिएका छन्। 

मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन । कांग्रेसले आगामी मङ्सिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ ।(रासस)