सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ
काठमाडौं, असोज १८ : प्रहरीले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ठगी आरोपमा सोमबार पक्राउ गरेको छ ।
उनी सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष पनि हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । एमालेको तर्फबाट उनी तत्कालीन संविधानभामा सभासद् पनि बनेका थिए ।
सिभिल सहकारीका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा तामाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । निक्षेपकर्ताहरूको उजुरीका आधारमा उनीसहितका व्यक्तिलाई सुन्धाराबाट पक्राउ गरिएको सीआईबीका एक अधिकारीले जानकारी दिए।
तामाङसहितका व्यक्तिविरुद्ध हालसम्म ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ।