स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा उभिन डेमोक्र्याटिक लयर्स एशोसिएशनको आह्वान

काठमाडौं  । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले संविधान प्रदत्त जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा उभिन आह्वान गरेको छ ।

एशोसिएशनकी महासचिव लक्ष्मीदेवी दाहालले विज्ञप्ति जारी गरी अहिले न्यायालयमा देखापरेको यो घटनाले सिंगो न्याय क्षेत्रलाई तहसनहस बनाउने खतराको संकेत देखापरेकाले स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन आह्वान गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘ अन्तर्राष्ट्रिय तहमा हाम्रो न्यायालयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आज पर्यन्त गौरवपूर्ण रुपमा जिवित छ । यो साख जोगाउँदै यस विषम परिस्थितिमा सहज निकास खोज्न र यो गतिरोध अन्त्य गरी न्यायपालिकाको स्वर्णिम इतिहासलाई जोगाउँदै अघि बढ्न साथै न्यायपालिका भित्र रहेको विकृति, विसंगती, भ्रष्टाचार समाप्त पार्न विचौलिया नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत यथाशिघ्र कार्यान्वयन गरी न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकाय, सम्मानित सर्वोच्च अदालतको नेतृत्व तह तथा सम्पूर्ण सरोकारवाला पक्षलाई एशोसिएशन हार्दिक अपील गर्दछ।’

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीहरु दुई सातादेखि आन्दोलनमा उत्रिएका छन् । जसका कारण सर्वोच्चमा मुद्दाको सुनुवाई हुन सकेको छैन ।