बालबालिकालाई विद्यालयमा नै खोप लगाइने : मन्त्री खतिवडा
काठमाडौँ, २९ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताउनुभएको हो ।
उहाँका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । उहाँले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिनुभयो ।
“महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने ’boutमा मेरो सल्लाह भइसकेको छ”, मन्त्री खतिवडाले भन्नुभयो, “थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।”
नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।(रासस)