‘पूर्वमाओवादी घटकसँग एकता असम्भव’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रलगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले माओवादी केन्द्रलगायतका पूर्व माओवादी घटकबीचमा एकताको सम्भावना नरहेको बताएका हुन् । वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि एकताको कुनै सम्भावना नरहेको बताए ।

आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको भनाइ थियो । उनले भने, ‘उहाँहरुले पार्टी एकता हुनसक्छ, पूर्व माओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टीसँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैनौं भनिराखेका छौँ ।’

उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए । उनले ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको बताए । वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए ।

साभार: drishyatv.com